काभ्रे । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले १०औँ राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । सोही क्रममा प्रोटिनको उत्कृष्ट स्रोत मानिएको अण्डा बुधबार विभिन्न कार्यक्रम गरी वितरण गरेको छ । दुई विद्यालयका २ सय २० जना विद्यार्थीलाई दिवा खाजा स्वरूप अण्डाको परिकार बनाएर खुवाइएको छ । पनौती–५ स्थित सुब्बागाउँ स्वास्थ्यचौकीको संयोजनमा गर्भवती र सुत्केरी महिलाहरूलाई अण्डा वितरण गरिएको छ । नगरप्रमुख रामशरण भण्डारी वडा अध्यक्ष विनोद खत्री पोल्ट्री व्यवसायी संघका सल्हाकार तथा वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।
‘बालबालिकाहरूलाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिन्छ’, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईले कार्यक्रममा भने, ‘वागमति प्रदेश सरकारले पोल्ट्री दिवस मनाउन गरेको परिपत्र अनुसार सिम्बोलिक रूपमा केही विद्यालयका विद्यार्थी र गर्भवति महिलाहरूका लागि अण्डा वितरण गरिएको हो ।’ पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रतिवद्धता भन्ने नारा लिई सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा अण्डाको प्रयोग तथा उपभोगका बारेमा जानकारी गराउने गरी सरोकारवाला निकायसँग अन्तत्र्रिmयासमेत गरी कार्यक्रम तय गरिएको छ ।
बुधबार चौकोटमा आयोजित कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाई, पोल्ट्री मञ्च काभ्रेका सचिव दयाराम महत, स्वास्थ्यचौकी इन्चार्ज विनोद कुइँकेल लगायतको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईंको अध्यक्षतामा सम्पन्न भेलाले पनौती–५ चौकोटमा रहेको स्वास्थ्यचौकीमा नियमित परीक्षण गराउने गर्भवति महिला, धुलिखेलको बाल मन्दिर र धनेश्वर प्रावीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डाको परिकार खाजाको रूपमा खुवाएका थिए ।
दुई विद्यालयका विद्यार्थीहरू र गर्भवति महिलाहरुलाई अण्डा वितरणपछि प्रोटिनको उत्कृष्ट माध्यम अण्डाको नियमित प्रयोग गर्न अनुरोध गरिएको प्रमुख हुमागाईंले जानकारी दिए । पोल्ट्री व्यवसायीहरू तथा जिल्लाको समग्र पोल्ट्रीका विषयमा बृहत् अन्र्तक्रिया बिहीबारका लागि आयोजना गरिएको थियो । सोही कार्यक्रममा पोल्ट्री ब्यवसायी लगायतले जिल्लाको समग्र विषयमा डा. द्वय गणेश बञ्जारा र नितेश कार्कीले कार्यपत्र प्रस्तुत गरिनेसमेत बताइएको छ ।
पोल्ट्री दिवसकै अवसर पारेर बनेपामा पुस १६ गते श्रमिकहरुलाई अण्डा वितरण गर्ने निर्णय भएको छ । जिल्लाको प्रवेशद्धार रोशी गाउँपालिकाको मंगलटारमा सचेतनामुलक कार्यक्रमसहित समापन कार्यक्रम पुस १७ गते आयोजना गरिनेछ । धनेश्वर आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनिरुद्र थापालगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । अण्डासँगै बालबालिकाहरुलाई खाजा खुवाइएको थियो ।
पोल्ट्री दिवस मनाउँदै गर्दा अवैध रूपमा भारतबाट भित्रने कुखुरा तथा चल्लाहरू नियन्त्रणका लागि थप अभियान सञ्चालन गर्ने गरी सोही स्थानमा कार्यक्रम आयोजना गरिएको प्रमुख राजकुमार हुमागाईले बताएका छन् । काभ्रे जिल्ला पोल्ट्री ब्यवसायका लागि उर्वर क्षेत्र हो । जिल्लाले आफ्नो खपतसँगै निर्यात गरिरहेको छ । उपत्यकाको ठुलो हिस्सा कुखुराको मासु र अण्डा काभ्रेले निर्यात गरिरहेको छ ।
प्रतिक्रिया