धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले विद्युतीय शासन (ई–गभर्नेन्स) सम्बन्धि तालिम प्रदान गरेको छ । महासंघले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई सो तालिम प्रदान गरेको हो ।
ई–गभर्नेन्स प्रविधिको प्रवद्र्धन गर्नका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई यसकाबारे प्रयाप्त ज्ञान र सबैको साझा बुझाइ गर्न जरुरी देखिएकोले लुथरन विश्व फेडेरेशन नेपाल र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको साहस–२ परियोजनाले परियोजना कार्यक्षेत्रभित्र पर्ने बैतडी र डडेलधुराका पालिकामा तीनदिने तालिम सञ्चालन गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार परियोजनाको कार्यक्षेत्र रहेको बैतडीको सुर्नया गाउँपालिकामा पौष १ गते देखि ३ गते सम्म, दोगडाकेदार गाउँपालिकामा ४ गतेदेखि ६ गतेसम्म र डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पौष ७ गतेदेखि ९ शनिबारसम्म तालिम सञ्चालन गरिएको हो ।
तालिममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको महासंघका कार्यकारी निर्देशक बोहराले बताए । तालिमको सहजिकरण विद्युतिय शासन (ई–गभर्नेन्स) विषयका विज्ञ बिसनदेव जोशीले गरेका थिए ।
तीनदिने तालिममा शासन, स्थानीय शासन र सुशासन, स्थानीय तहको काम, कर्तव्य र अधिकार,विद्युतीय शासन र यसको अवधारणा, विद्युतिय शासनको उद्येश्य, उपयोगिता तथा महत्व विद्युतीय शासनको प्रभावकारिता तथा यसका चुनौती र समस्याहरु, स्थानीय तहमा विद्युतिय शासन र यसको प्रभावकारी प्रयोग, सुशासनका औजारहरु (सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण) को प्रयोग, सूचना प्रविधी र सुशासनबीच अन्तर सम्बन्ध र विकासका अन्तरनिहित सवालहरुबारे छलफल गरिएको तालिमका सहजकर्ता जोशीले बताए ।
स्थानीय तहहरुलाई प्रविधिमैत्री बनाउन, सीमा बिहिन सेवा प्रवाह गर्न, कागजविहिन प्रशासनको अवधारणालाई कार्यान्वयन गर्न, प्रशासनिक कार्यबोझलाई न्यूनीकरण गर्न, पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास र जनतालाई छिटोछरितो सेवा प्रवाहमा सहयोग पुगोस् भन्ने उदेश्यले तालिम आयोजना गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले बताए ।
तलिममा तीनवटै पालिकाको विद्युतिय शासन (ई–गभर्नेन्स) को वर्तमान अवस्था र सुधारका क्षेत्रहरु पहिचान गरी आगामी कार्ययोजना समेत तयार गरिएको परियोजना सहायक भुवनराम चुनाराले बताए ।
विश्वमा प्रविधिको दिनानुदिन नयाँ प्रयोग भइरहेको सन्दर्भमा समय सापेक्ष तालिमको आयोजना गरि स्थानीय सरकारलाई सहयोगी हुने गरी तालिम सञ्चालन गरेकामा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले सहयोगी संस्था लुथरन विश्व फेडेरेसन नेपाल र आयोजक संस्था राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाललाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा विद्युतीय शासन प्रवद्र्धनका लागि सहकार्य गरेर जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
प्रविधिको प्रवद्र्धन सुशासनको प्रवद्र्धन गर्न संघीय सरकारले सूचनामा पहुँच र सेवा प्रवाहमा सुधार गर्न आईसीटीमा आधारित विद्युतिय शासन (ई–गभर्नेन्स) प्रविधिको प्रवद्र्धन गर्दै आएको छ ।
देशका अधिकांश नगरपालिका गाँउपालिकाहरुमा सबै गतिविधि र कामको सूचना जनतामाझ डिजिटल वितरणका लागि सूचना केन्द्र (आईटी सेन्टर) को व्यवस्था गर्ने कार्य सुरु भएको छ । तर, सीमित स्रोत र क्षमताका कारण अधिकांश पालिकाहरुले ई–गभर्नेन्स प्रणाली स्थापना गर्न सकेका छैनन् ।
कैलाली
प्रतिक्रिया