दमक (झापा)। इलाका प्रहरी कार्यालय दमक झापाका प्रहरीबाटै सेवाग्राही नागरिक असुरक्षित भएका छन् । सोमबार प्रहरी कार्यालयभित्र सेवाग्राही सर्वसाधारण नागरिकमाथि प्रहरीद्वारा गालीगलौज र कुटपिट भएको छ ।
सो बेला प्रहरीद्वारा गालीगलौज र कुटपिट भइरहेको भिडियो खिचेको भन्दै पत्रकारमाथि समेत दुर्व्यवहार भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवानन्द मिश्र नेतृत्वको प्रहरीले सर्वसाधारण नागरिकमाथि गालीगलौज र कुटपिट गरेको छ भने समाचारको लागि सोही भिडियो खिच्दै गरेका सौर्यकर्मी समेत रहेका पत्रकार राम योङहामाथि दुर्व्यवहार गरेका छन् ।
एक घटनाका विवादित दुई पक्षबीच एकआपसमा सहमति भएपछि मेलमिलापका लागि इलाका प्रहरी कार्यालय पुगेका पीडित पक्षका पर्भात जवेगूलाई प्रहरीले गालीगलौज र कुटपिट गरेका छन् । पक्षहरुबीच सहमतिपछि एकआपसमा हात मिलाउँदै गरेको भिडियो खिचेको भन्दै प्रहरी हवल्दार तारा मगरातीले जवेगूको मोबाइल खोसेर गालीगलौज र कुटपिट गरेका हुन् ।
हवल्दार मगरातीले जवेगूमाथि कुटपिट गर्दै गरेको भिडियो पत्रकार योङहाङले खिच्दै थिए । तर, पत्रकार परिचयपत्र देखाउँदा समेत योङहाङलाई पनि मगरातीले दुर्व्यवहार गर्दै मोबाइल खोसेका छन् । यसरी प्रहरी हवल्दार मगरातीको ज्यादती भइरहँदा प्रहरी सहायक निरिक्षक (असई) अर्जुन सापकोटा भने मुकदर्शक भइरहे ।
लगत्तै प्रहरी निरिक्षक देवानन्द मिश्रले उनै जवेगूलाई नै उल्टै कुटपिट गर्दै प्रहरी हिरासतमा पठाए । त्यतिमात्र होइन, प्रहरीले कुटपिट गर्दै गरेको भिडियो खिचेको भन्दै मिश्रले पत्रकार योङहाङ र सँगै रहेका जवेगूका बाबु पृथीमान जवेगूलाई समेत हिरासतमा पठाए ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिपकुमार गिरीको निर्देशनमा मिश्रले हिरासतमा पठाएका तीनैजना करिब आधा घण्टापछि हिरासतमुक्त भएका छन् । विनाकारण हिरासतमा पठाएका प्रहरी प्रमुख गिरीले तीनै जनालाई विनाकारण नै हिरासतमुक्त गराएका हुन् ।
पत्रकारसहित सबै सकुशल हिरासतमुक्त त भए नै, तर प्रहरीको ज्यादतीको भिडियो भने सुरक्षित हुन सकेन । पत्रकार योङहाङले कैद गरेको प्रहरीको ज्यादतीको भिडियो समेत प्रहरीले जबरजस्ती डिलिट गरिदिएका छन् । यता डिएसपी गिरीले प्रहरी परसरभित्र भिडियो खिच्ने अधिकार कसैलाई नभएको भन्दै उल्टै प्रहरी ज्यादतीको बचाउ गरे ।
शान्ति सुरक्षा कायम गर्ने एवं नागरिकको जीउज्यानको सुरक्षा गर्ने प्रहरीबाटै नागरिकमाथि भएको ज्यादतीलाई समान्य रुपमा लिए । साथै, गिरीले इलाका प्रहरी कार्यालय पनि सार्वजनिक निकाय हो भन्ने कुराको हेक्का समेत नरहेको पुष्टि आफैंले आफैंलाई गराएका छन् ।
योङहाङ नेपाल पत्रकार महासंघ इलाम शाखाका कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय नयाँ बुलन्द डटकमका सम्पादक समेत हुन् ।
ज्यादतीमा संलग्न प्रहरीलाई कारवाही गर्न माग
यसैबीच प्रहरीले विनाकारण कुटपिट गरको र हिरासतमा राखेको भन्दै जवेगू परिवारले दोषीलाई कारवाही गर्न माग गरेको छ । मंगलबार विहान दमकमा पत्रकार सम्मलन गरी जवेगूले आफूहरुमाथि विनाकारण प्रहरीले दमन गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गरेको हो ।
‘मैरो छोराले विवादका पक्षहरुबीच भएको सौहार्दपूर्ण पुनर्मिलनको भिडियो खिचिरहेको थियो, प्रहरीले एक्कासी धम्काउने, मोबाइल खोस्ने, हातपात गर्ने र धरपकट गर्ने काम गर्यो’, पत्रकार सम्मेलनमा पृथीमानले भने, ‘यसरी बर्दी लगाएका पुलिसले नागरिकमाथि गरेको ज्यादती खेदजनक छ, नागरिकको सुरक्षा गर्ने प्रहरीबाटै असुरक्षित हुने अवस्था भयो, त्यस्ता प्रहरीलाई कारवाही गर्न माग गर्दछु ।’
घटना संविधान र कानून विपरीत : पत्रकारजन्य संघसंगठन
यसैबीच पत्रकार राम योङहाङमाथि भएको दुर्व्यवहारमा संलग्न प्रहरीलाई कारवाही गर्न विभिन्न पत्रकारजन्य संघसंगठनले समेत माग गरका छन् । नेपाल पत्रकार महासंघ इलाम, प्रेस सेन्टर नेपाल इलाम र प्रेस सेन्टर प्रदेश १ समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्न मग गरेका हुन् ।
नागरिकको सुरक्षाका लागि खटिरहेको प्रहरीले नागरिकमाथि भौतिक कारवाही गर्नु र त्यस घटनाको रिपोर्टिङ गर्ने पत्रकारमाथि अभद्र व्यवहार गर्ने घटना देशको संविधान र कानून विपरीत रहेको नेपाल पत्रकार महासंघ इलामले जनाएको छ ।
महासंघ इलाम शाखाका सचिव भीम चापागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो घटनाले सुरक्षाकर्मीबाटै प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्ने मनसाय छर्लङ्ग बनाएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्दै नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न र त्यस अभियानमा अहोरात्र खटिरहेका पत्रकारको भौतिक, पेसागत सुरक्षा सुनिश्चित गर्न महासंघले माग गरेको छ ।
त्यस्तै प्रेस सेन्टर इलाम र प्रदेश १ समितिले देशको सुरक्षाको जिम्मा पाएको प्रहरीका जिम्मेवार अधिकारीले पत्रकार योङहाङको मोबाइल खोसेर नियन्त्रणसँगै हिरासतमा लिने र भिडियो डिलिट गर्ने काम स्वतन्त्र पत्रकारीतामाथि डर र त्रास फैलाउने गतिविधि भएको बताउँदै घटनाको सत्यतथ्य छानविन गरि निजहरुलाई आवश्यक कारबाही गर्न माग गरेको छ ।
पत्रकारलाई नियन्त्रणमा लिएर माथिको आदेश भन्दै हिरासतमा राखि अभद्र व्यवहार गरि कैद गरेको भिडियो डिलिट गरेको घटनाले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको हकमाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया