कृषिमा युवाहरूको लगाव

अर्घाखाँची । कोभिडको बेला आर्थिक तवरले सबै क्षेत्र अस्तव्यस्त रह्यो, धेरैका व्यापार व्यवसाय र जागिरसमेत धरापमा परे, सबैको जनजीविका कष्टकर भयो । सबै क्षेत्रमा कोभिडको चौतर्फी प्रभाव देखियो, के गर्ने भन्ने सबैतिर अलमल नै थियो । सबैका काम धन्दा बन्द भएको अवस्था थियो । सोही समयमा नयाँ योजनाका साथ मालारानी–४ खन स्थायी घर हुने चार युवाले सामूहिक कृषि तथा पशुपालन गर्ने योजनासहित फर्म अगाडि बढ्यो ।

रामपथ एग्रोफम नाम दिई दर्ता गरी चार जना युवाहरूले सुरु गरेकोे कृषि तथा पशुपंछी फर्म अहिले जिल्ला भित्रको राम्रो सफल फर्मको रूपमा चिनिन थालेको छ । बिहान ६ बजेको समयमै गिरिराज खनालले टमाटरमा गोड । मेल गर्दे डोरी लगाउँदै थिए । कृषि फर्ममा उनीसँगै खिमान्द खनाल पनि काममै ब्यस्त देखिन्थे । उनीहरूले करिब दुई÷तीन वर्षदेखि कृषि व्यवसाय गर्दै आएका छन् । गिरिराज खनाल, खिमान्द खनाल, लिलबहादुर बराल र बलाराम भुसालको संयुक्त लगानीमा श्री रामपथ मल्टी प्रपोज एग्रो फर्म तथा रिसर्ज सेन्टर सञ्चालन भएको जानकारी दिए ।

कृषि फर्ममा भैँसी, माछा, लोकल कुखुरा, बंगुर पनि छन् । ‘५० रोपनी जग्गामा कृषि तथा पशुपालन गरिरहेका छौँ, यतिबेला टमाटर, सिमी, काउली, गोलभेँडा, गोर्भी लगायतका तरकारीहरू पनि तयारी हुँदै छन् । केही क्षेत्रफलमा घाँस पनि लगाएका छौँ । जिल्लामा बसेर कृषिसँग जोडिएर सबै मिलेर केही काम गरौँ भन्ने उद्देश्यका साथ हामीले कृषि फर्म सञ्चालन गरेका हौँ’ कृषक खिमानन्द खनालले भने । खनालले कृषि व्यवसायबाट राम्रै आम्दानी हुने पनि सुनाए । व्यावसायिक कृषकले प्लास्टिक टनेलभित्र खेती गर्ने गर्छन् । त्यहाँ पनि प्लास्टिक टनेलभित्र तराकारीहरू फल्दै गरेका देखिन्थे ।

‘उत्पादन भएको फर्सी, काक्रो, लौका, सिमी,, करेला, बोडी, टमाटर लगायतका तरकारीहरू सन्धिखर्क बजार, जिल्लाभर र छिमेकी जिल्लाहरूमा समेत बिक्रीका लागि जाने गर्छन् । यो सँगै भैँसीका पाडा, पाडी, बंगुर पनि बिक्री भइरहेका छन् । दूध उत्पादनका लागि बाहिरबाट उन्नत जातको भैसीँ ल्याएका छौँ, अब केही समयपछि दूध पनि उत्पादन गरेर बिक्री गर्ने तयारीमा छौँ’, गिरिराज खनालले भने । खनालले फर्ममा चार जना कामदार रहेको पनि बताए । उनले भने, ‘चार जनाले रोजगार गरिरहेका छन् । अब केही समयपछि अझैलाई रोजगारी दिनेछौँ ।’ यस्तै खनालले उत्पादन भएको बस्तुले बजार राम्रै पाएको जानकारी दिए । ‘पहाडमा उत्पादन भएको तरकारी र माछा मासु स्वादिलो हुने भएकाले माग पनि बढी छ । उत्पादन गर्नसके बिक्री जति पनि भइहाल्छ ।’

तरकारी बालीहरूमा प्रांगारिक मलको प्रयोग गर्ने गरेको लिलबहादुर बरालले बताए । ‘तराईमा जस्तो रासायनिक मलको प्रयोग गर्दैनौँ । यहाँ भैँसी, बंगुर र कुखुराको मलबाट तरकारी तथा विरुवा उत्पादन गरका छौँ । तराईसँग प्रतिस्पर्धा पनि धेरै छ । हामीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै उत्पादन गरेका छौँ’, बरालले भने ।

व्यापारीहरू तरकारी किन्न बारीमै आउने गरेका छन् । ‘अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा मिहिनेत गरे यहि पैसा छ’, बलाराम भुसालले भने । ‘उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन, तरकारी खोज्दै मानिसहरू घरमै किन्न आउँछन् । तरकारी बिक्रीका लागि बजारको चिन्ता गर्नु पर्दैन, ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन् । सरकारले कृषिमा जोड दिनसके धेरै मानिसको जीवनस्तरमा सुधार हुने उनी बताउँछन् । साथै सबै किसिमका खाद्यान्नमा हामी आत्मनिर्भर हुन सकिन्छ । ‘किसानलाई सहज कर्जा, मल, बिउ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको छ’, उनले भने । किसानले सहज रूपमा अनुदान पाएमा खेती गर्न अझ सहज हुने थियो । अनुदान बास्तविक किसानले पाउनुपर्ने माग पनि उनले राखे ।

‘नेपाल कृषि प्रधान देश हो । हाम्रो पुख्र्यौली पेसा पनि कृषि नै हो तर बुवाहरूले थोरै गर्नुहुन्थ्यो, अहिले हामीले आधुनिक तरिकाले खेति गरिरहेका छौँ व्यवसायलाई पनि बढाउँदै लगेका छौँ’, उनीहरूले भने । यसरी गाई, भैँसी, बंगुर, माछा, लोकल कुखुरा, ब्रोईलर कुखुरा, बिभिन्न खाले तरकारी गरी सफलतापूर्वक फर्म सञ्चालन गरेका किसानहरूले मासिक रूपमा करिब १ लाख ५० हजारको सरदरमा आम्दानी हुने गरेको खिमानन्द खनालले बताए ।

प्रतिक्रिया