काठमाडौं । बर्दिया ठाकुरद्वार ९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका थिए । उनलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै थिइन् । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन् । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन् उनीहरु मुलुक चलाउने सिंहदरबार नजिकै । ‘भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ’, कार्की दम्पत्तीले एकै स्वरमा सुनाए।
निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त थिए । उनीहरुलाई हामीले सोध्यौँ, ‘भोट हाल्न किन नजाउनुभएको ?’
‘मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन् । कसैले खबर गरेको भए जाने थियौँ ।’
बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आएका छन् । भोट हाल्न गाउँ नगइ राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक रु एक हजार आठ सयदेखि रु दुई हजारसम्म आम्दानी गर्छन् ।
‘छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्’, कार्कीले भने, ‘हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।’ कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उनको भनाइ छ ।
कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उनी भने काठमाडौंको रामशाह पथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहेकी थिइन् । उनलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सकिनन् ।
‘पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिन, घर जान धेरै पैसा लाग्छ,’ उनले भनिन्, ‘कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।’
धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आएकी रहेन्छि । चुनावका दिन गाडी नचल्ने भएपछि उनले ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाइन ।
‘आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्योहोला’, उनले भनिन्, ‘तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।’
धामी जस्तै रामेछापकी सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैलदै हिँडेका थिए । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आएका रहेछन् । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गरेका उनीहरुले बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताए ।
निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन विहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ । सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट बञ्चित भएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामति कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका बृद्धाआश्रमलाई समेटेको भए पनि पेशा व्यवसाय गरेका सर्वसाधारणलाई समेटन सकेको छैन ।
अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रुपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर, हाम्रोमा निर्वाचन कानूनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ । रासस
प्रतिक्रिया