काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरीको विषयमा प्रमाणका आधारमा निर्णय लिने बताएको छ । लामिछानेविरुद्घ नागरिकताको विषयलाई लिएर उजुरी परेको छ ।
आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए ।
नेपाली नागरिकता पुनः प्राप्तिको विषयलाई लिएर विवादमा परेका लामिछानेलाई आयोगले बुधबार स्पष्टीकरण पनि सोधेको थियो । लामिछानेले अमेरिकी पिआर लिएपछि पनि नेपाली नागरिकता नत्यागेको र पिआर त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामै नगई उम्मेदवारी दिँदा पुरानो खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेद्वारी दिएको भन्दै दुई अलग उजुरी निर्वाचन आयोगमा परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
लामिछाने चितवन २ मा प्रतिनिधिसभा उम्मेद्वार छन् । उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समय दिउर स्पष्टीकरण सोधिएको जानकारी चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दिएका छन् ।
यसैबीच, लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजिएको दाबी गरेका छन् । केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैँ जवाफ खोज्ने गरेको उनले बताए । ‘म सधैँ चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैँ घेराबन्दीमा पारिन्थ्यो । अहिले पनि चक्रब्यूहमा छु,’ चितवनमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भनेका छन् ।
लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए । ‘कुनै दिन मलाई तँ जिउँदो छस् भनेर प्रमाणित गर भनिनेछ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाउँदै हुनेछु’, उनले भनेका छन् ।
प्रतिक्रिया