“कारबाही” दोस्रो सातामा

काठमाडौं : चलचित्र क्षेत्रमा स्पट ब्वायका रूपमा प्रवेश गरेर लाइटपर्सन र क्यामेरापर्सन हुँदै निर्मातासम्मको यात्रा तय गरेका निर्माता नारायण मैनालीले निर्माण गरेको चलचित्र ‘कारबाही’ दोस्रो सातामा प्रवेश गरेको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र आधा दर्जन हलमा दोस्रो सातामा प्रवेश गरेको हो । समाजमा विकृति र विसंगति फैलाउने माथि मात्र होइन, निमुखा जनताको भविष्यमाथि खेलबाड गर्ने नेतालाई समेत कठघरामा उभ्याएर कारबाही गर्नुपर्छ भन्ने सन्देश चलचित्रको विषयवस्तुमा समेटिएको छ ।
राजेश हमाल, राज लामा, राजेन्द्र श्रेष्ठ, लोकेन्द्र सापकोटा, सुनील थापा, सम्राट बस्नेत, दीपा थापा, महिमा सिलवाल, मेरी लिम्बू, सुभाष गजुरेल, विद्या कार्की, मिश्री थापा, सपना श्रेष्ठ, बद्री पुडासैनी, कृष्ण सिवाकोटी, नरेश पौडेल, लक्ष्मण रायमाझी, शक्ति पण्डित आदिको यस चलचित्रमा अभिनय छ । राहुल राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व र राजेन्द्र श्रेष्ठको संगीत रहेको यस चलचित्रमा प्रदीप श्रेष्ठ र सुनीलकुमार मगर नृत्यनिर्देशक रहेका छन् । (सौस)

प्रतिक्रिया