दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहालवाला मन्त्री र पूर्व मन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो ।
मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन् । आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान शुरूआत गरेको थियो । २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार २ पटक निर्वाचित भएका थिए ।
२०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडूलाई यसपटक सत्ता गठबन्धनको दरिलो साथ रहेको बताइन्छ । उनलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री ठगुन्ना तेस्रोपटक जीतलाई निरन्तरता दिने दाउमा छन् ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार ८९ हजार १५४ मतदाता रहेको जिल्लामा ९ पालिका रहेका छन् । प्रतिनिधिसभामा बडू, ठगुन्नासहित ९ जना उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा पराजित विक्रमसिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार छन् । प्रदेश (२) बाट गठबन्धनले माओवादी नेता एवं सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार छन् ।
यसैगरी प्रदेशसभा क्षेत्रमा एमालेले (१) मा नेता हरदेव जोशी र (२) मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । एमाले दार्चुला अध्यक्ष प्रेमसिंह धामीले आफ्नो पार्टी निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।
कांग्रेस दार्चुलाका पार्टी सभापति एवं प्रतिनिधि सभाका समानुपातिक तर्फका उम्मेदवार ललित बोहराले दार्चुलामा गठबन्धन सफल हुने दाबी गरेका छन् ।
प्रतिक्रिया