नवलपुर । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरूका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरूले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् ।
गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातीसम्म कुखुराकै खोरमा समय बिताउँछन् । १ हजार ५ सय स्थानीय जातका कुखुरा पालेका आचार्यले मासिकरूपमा खर्च कटाएर ६० हजार रुपैयाँ वचत हुने बताए । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ’, आचार्यले भने, ‘बिदेसिनेहरू सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’
कुखुराका लागि आवश्यक पर्ने दाना आफैं उत्पादन गर्ने आचार्यलाई कुखुरापालनमा उनको श्रीमती र परिवारको साथ मिलेको छ । कुखुरापालनमा लागेर पाँच जनाको परिवार सहजै पालिएको आचार्यले सुनाए । ‘कुखुरापालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो’, आचार्यले भने, ‘कुनै पनि काममा निरन्तरता दिँदै र मिहिनेत गरेमा सफलता मिल्ने रहेछ ।’
यहाँ लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरापालन व्यवसायमा लागेका छन् । १० वर्षसम्म वैदेशिक रोजगारमा दुबई बसेका मध्यविन्दु–३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बनेका छन् । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिकरुपमा कुखुरा, बाख्रा र बंगुरपालन सुरु गर्दै स्वरोजगार बनेका छन् ।
दुबईमा रहँदा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाई गर्ने उनले स्वेदशमै केही गर्ने चाहना बोकेर गाउँ फर्किएको बताए । ‘दुबईमा मेरो आम्दानी राम्रो थियो, ओभरटाइम गरेर त महिनामै एक लाखभन्दा बढी पैसा कमाउने गरेको थिएँ,’ उनले भने, ‘अहिले घरमै बसेर आफ्नै काम गर्दा पनि राम्रो कमाई भइरहेको छ ।’ उमेरले ५२ वसन्त पार गरेका गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउँछन् ।
‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाइ हुने भएपछि फेरि विदेश जान मन लागेन,’ गुरुङले भने, ‘लकडाउनको समयमा कुखुरापालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बुंगुर पनि थपेको छु ।’ पशुपन्छीपालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि विदेश जान मन नलागेको अनुभव उनले सुनाए । ‘विदेश गएर अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ,’ गुरुङले भने, ‘विदेश गएर अर्काको ठाउँमा मिहिनेत गर्नुभन्दा स्वदेशमै पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।’
नन्दे गुरुङकै २५ वर्षीय छोरा उत्तम गुरुङ दुई वर्ष दुबई बसेर गाउँमै फर्किए । अरूको देशमा काम गर्नुभन्दा घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि आफू पहिले गाउँ फर्किएको उत्तमले सुनाए । ‘अर्काको देशमा अरूले भनेकोअनुसार काम गर्नुपर्छ, केही काम बिग्रियो भने तलब पनि काट्छ अझै भएन भनेर गालीसमेत खानुपर्छ,’ उत्तमले भने, ‘यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, बाबा र म मिलेर काम गर्छौं, धेरै सजिलो छ ।’ घरमा आएर सुरु गरेको व्यवसायबाट आफूहरू सन्तुष्ट रहेको उत्तमले सुनाए ।
‘सुरुमा हामीले एउटा ठूलो खोर बनाएर पाँच सय ब्वायलर कुखुरा पाल्न सुरु गरेका थियौँ,’ उनले भने, ‘अहिले दुई खोरमा गरी १ हजार ५ सय जति ब्वायलर कुखुरा पालेका छौँ । कुखुरासँगसँगै बाख्रा र बंगुर पनि थपेका छौँ ।’ बाबुछोराले पालैपालो कुखुरा, बाख्रा र बंगुरको हेरचाह गर्ने गरेको उत्तमको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उनीहरूले बताए ।
‘हामीलाई बजारको कुनै समस्या छैन,’ उनले भने, ‘कुखुरा, खसीबोका तथा बंगुर खरिदका लागि व्यापारी घरमै आउने गरेका छन् ।’ पछिल्लो समय कुखुरालाई खुवाउने दाना महँगिएका कारण केही अप्ठ्यारो भएको गुरुङले गुनासो गरे । उत्पादन लागत बढेअनुसार बिक्री मूल्य नपाउँदा भने लगानी उठाउनै मुस्किल हुने गरेको गुरुङले दुःखेसो पोखे ।
जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरापालन गर्ने कृषकको संख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरापालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरूको बिदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् ।
प्रतिक्रिया