काठमाडौं । नेपाली कांग्रेसले उदयपुर २ मा गठबन्धनका आधिकारिक उम्मेदवार जगन्नाथ खतिवडा विरुद्ध उम्मेदवारी दिएका रामकुमार राई सहित थप पाँच जनालाई कारबाही गरेको छ । नेपाली काग्रेस उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति समेत रहेका राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पाँचै जनालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुङ्गानाले बताए । पार्टीको नीतिविपरीत बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने कांग्रेसले जनाएको छ । हिजो मात्रै काग्रेसले केन्द्रीय सदस्य दिनेश कोइराला सहित ७४ जना नेता कार्यकर्तालाई कारवाही गरेको थियो ।
प्रतिक्रिया