पोखरा । निर्वाचन मिति नजिकिँदै जाँदा कास्कीको चुनावी माहोल पनि तात्न थालेको छ । चुनावी अभियानले गति लिँदै गर्दा कास्कीको परिणाम कसको पोल्टा जाला भन्ने अनुमान गर्न भने कठिन छ, किनभने कास्कीको चुनावी इतिहास लयमा छैन ।
अहिलेसम्म स्व.रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक गरेर चुनाव जित्ने नेतामा पर्दछन् । तुलबहादुर गुरुङले लगातार दोस्रोपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार दोहो¥याएर चुनाव जितेको रेकर्ड छैन ।
यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन भने केही क्षेत्रमा नयाँ उम्मेद्वारबीच प्रतिस्पर्धा छ । उम्मेद्वार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार एकै क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै रोचक भएको छ – साँच्चै कास्कीमा ब्रेक थ्रु हुन्छ कि पुरानै निरन्तरता ।
०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी ०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । ०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।
०६४ मा नेकपा माओवादीका देव गुरुङ विजयी भए भने ०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा ०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।
यो निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा ‘ख’ मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङ बीच प्रतिष्पर्धा छ । ०७४ मा ‘क’ मा माओवादीका दीपक र ‘ख’ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।
कास्की २ मा ०४८ र ०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भएका थिए भने दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । ०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । ०६४ मा माओवादीका राजकाजी गुरुङ र ०७० मा कांग्रेसकी शारदा पौडेल तथा ०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका थिए । रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ ‘क’ मा एमालेका कृष्ण थापा र ‘ख’ मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । ‘क’ मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा ‘ख’ मा कांग्रेसका विन्दुकुमार थापा र एमालेकी मीना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।
कास्कीको साविक ३ नम्बर क्षेत्रमा ०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा ०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । ०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । ०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने ०७० मा उनैले दोहो¥याए । हाल कास्की क्षेत्र नं २ मा पर्ने यो क्षेत्रबाट एमालेकी विद्या भट्टराई र सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल चुनावी मैदानमा छन् ।
०६४ र ०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको चार अर्थात हालको ३ नम्बर क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा ०६४ मा माओवादीकी दुर्गा विक र ०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् ।
०७४ को निर्वाचनमा प्रदेशसभा ‘क’ मा माओवादीका रामजी बराल र ‘ख’ मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी प्रदेशमै उम्मेद्वार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् ।
क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा ‘क’ मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा ‘ख’ मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया