भोट कसलाई ?

आमनिर्वाचनको मिति नजिकिइसकेको छ । मंसिर ४ भित्रै तिहार तथा छठजस्ता ठूला चाड परेका कारण प्रचारप्रसारका लागि पनि अब समय कम छ । धेरै उम्मेद्वारहरूमध्ये एक जनालाई छान्न सजिलो छैन । त्यसमाथि पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैचोटी हुन गइरहेका कारण उम्मेद्वारहरू धेरै छन् ।

आर्थिक पहुँच तथा अन्य सन्जाल भएका उम्मेद्वारहरूले आफ्ना कुरा जनसमक्ष पुर्याइसकेका छन् । जसको आर्थिक हैसियत कम छ, प्रचार संयन्त्रमा पहुँच कम छ ती उम्मेद्वारहरूले योग्य हुँदाहुँदै पनि आफ्नो परिचय तथा आफ्ना कुराहरू मतदातासमक्ष पुर्याउन सकेका छैनन् ।

प्रचारप्रसार तथा विज्ञापनको जमना हो । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामलसमेत बिक्दैन’ भन्ने त उखानै छ । अयोग्य व्यक्ति आफ्नो विभिन्न स्रोतको प्रयोग गरेर मतदातासमक्ष पुग्ने तर योग्य व्यक्ति मतदातासमक्ष नपुग्ने अवस्था आउन सक्छ ।

चुनावमा मतदाताहरू सचेत बन्नुपर्ने भनेको यहीँनिर हो । एउटा झुठलाई सय पटकसम्म सत्य हो भनेर प्रचार गर्ने हो भने जनताले त्यसैलाई सत्य ठान्न सक्छन् भन्ने भनाइ छ । चुनावमा उम्मेद्वार हुने कतिपयले यही हथकण्डा अपनाउँछन्, अनेकथरी प्रलोभन दिन्छन् ।

विकासका मूल फुटाउने कसम खान्छन् । तर, निर्वाचित भएर गइसकेपछि अर्को चुनाव नआउँदासम्म मतदाता चिन्दैनन् । जब अर्को चुनाव आउँछ, त्यसपछि नयाँ हथकण्डा लिएर जनतासमक्ष प्रस्तुत हुन्छन् । लोकतन्त्रको सबैभन्दा दुर्गुण पक्ष भनेकै यही हो ।

विश्वमा प्रयोगमा आएका शासन व्यवस्थामध्ये आवधिक निर्वाचनको माध्यमबाट शासक चुन्ने लोकतान्त्रिक व्यवस्थालाई सर्वोत्तम मानिएको छ । तैपनि कतिपय मुलुकमा लोकतन्त्र फष्टाउन सकेको छैन । यसको मुख्य कारण अयोग्य व्यक्तिहरू निर्वाचित हुनु हो ।

अयोग्य व्याक्ति निर्वाचित हुनुमा मतदाताकै कमजोरी मुख्य कारण हो । चुनावको बेलामा बेहोसी पूर्वक अयोग्य व्यक्ति छान्ने, त्यस पछिको पा“च वर्ष शासन व्यवस्थालाई सराप्दै बस्ने प्रवृत्ति नेपालमा बढ्दै गएको छ । त्यसैले मतदान अघि केही कुरामा विचार पुर्याउनु आवश्यक छ ।

उम्मेदवारको राजनीतिक, सामाजिक र शैक्षिक चेतना कस्तो छ ? उसको जीवनयापनको स्रोत के हो ? व्यक्तिगत तथा पारिवारिक जीवन कस्तो छ ? उसको पृष्ठभूमि के हो ? चुनाव जितिसकेपछि जनताको पहुँचभित्र हुन्छ कि हु“दैन ? लगायतका प्रश्नहरूको उत्तर खोज्नुपर्छ । आफूलाई योग्य लागेको उम्मेद्वारबारे अन्य मतदातासमक्ष छलफल गर्नुपर्छ ।

निश्चित राजनीतिक दलमा आवद्ध हुने र आफू आवद्ध दलले जस्तो व्यक्तिलाई भोट हाल्ने भन्छ उसैलाई आँखा चिम्लेर भोट हाल्ने प्रवृत्ति हाम्रो देशका करिब ७० प्रतिशत मतदाताहरूमा छ । जुन उम्मेद्वारले पैसा दिन्छ, खानपिन गराउँछ उसैलाई भोट हाल्ने प्रवृत्ति करिब १० प्रतिशत मतदातामा रहेको देखिन्छ ।

गाउँ तथा टोलका ठालुहरूले जसलाई भन्छन्, उसैलाई भोटहाल्ने प्रवृत्ति पनि केही मतादाताहरूमा देखिन्छ । केही प्रतिशत मतदाताहरूले भने साँच्चै योग्य उम्मेदवार खोजेर मतदिने गरेका छन् । राजनीतिक आस्था, विचार तथा सिद्धान्तका दृष्टिकोणले मुलुकमा विद्यमान दलहरूमा खासै ठूलो भिन्नता छैन ।

त्यसमा पनि यस आसन्न आमनिर्वाचन त दलीय आधारमा भन्दा पनि दलहरूबीचको गठबन्धनका आधारमा हुन गइरहेको छ । केपी शर्मा ओलीले उपेन्द्र यादव, राजेन्द्र लिङ्देन र कमल थापा लगायतका पात्रहरूका लागि भोट माग्दै हिँडेको अवस्था छ एकातिर छ भने अर्कातिर राजेन्द्र महतो तथा महन्थ ठाकुरले चित्रबहादुर केसीका लागि भोट मागेर हिँडेको अवस्था छ ।

दल तथा दलका नेताहरूले नै विचार सिद्धान्त र आदर्श छाडेर भोट माग्न थालिसकेको अवस्थामा मतदाताहरूले तेरो पार्टी र मेरो पार्टी भनिरहनै परेन । जुन पार्टीले उठाएको उम्मेदवार योग्य छ भन्ने आफूलाई लाग्छ उसैलाई भोटहाल्ने छुट पार्टीमा आवद्ध मतदाताहरूले पनि पाएका छन् ।

उदाहरणका लागि राजेन्द्र महतोका लागि भोट माग्ने चित्रबहादुर केसीलाई संघीयता विरोधी भनिरहनुको कुनै तुक छैन । चित्रबहादुर केसीका लागि भोट माग्ने महन्थ ठाकुरलाई संघीयताका पक्षधर ठानिरहनु पनि जरुरी देखिएन ।

कमल थापालाई भोट माग्ने केपी शर्मा ओलीलाई गणतन्त्रवादी र केपी शर्मा ओलीका लागि भोट माग्ने राजेन्द्र लिङ्देनलाई राजावादी ठानिरहनु पनि जरुरी देखिएन । दलगत आस्था त्याग्न मनले नमानेकै हो भने समानुपातिक तर्फको मतपत्र छँदै छ, तर प्रत्यक्ष तर्फको निर्वाचन प्रयोजन भनको दल रोज्नेभन्दा पनि उम्मेदवार रोज्ने हो ।

प्रतिक्रिया