राजविराज । असई सत्यनारायण यादवको हत्यामा सशस्त्र प्रहरीकै जवान संलग्नता भेटिएको छ । हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको खुल्न आएको हो । सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको शव असोज २० गते बिहीबार सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो । यादवलाई हत्या गरी फालिएको स्थान नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारतमा पर्छ ।
सिरहाको भगवानपुर गाउँपालिका–२ नहरा घर भएका असई यादव असोज १८ देखि तीन दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजले जनाएको छ । उनी असोज २१ गते शुक्रबार कार्यालयमा हाजिर हुनुपर्ने थियो । तर, बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमाझ तस्बिर सार्वजनिक गरेको थियो ।
नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भन्दै भारतीय प्रशासनलाई जानकारी दिएका थिए । भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो । असई यादवको शव निर्वस्त्र अवस्थामा फेला परेको थियो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट यादवको हत्यामा सशस्त्र प्रहरी सुरक्षा बेस छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता भेटिएको छ । यादवको हत्यामा उनी कार्यरत बिओपीका इन्चार्ज कृष्ण मगरलगायत पनि अनुसन्धानको घेरामा परेका छन् । सप्तरीका सशस्त्र प्रहरी प्रमुख एसपी प्रदीप खड्का बुधबार नै हेडक्वार्टर तानिएका छन् ।
सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ । प्रारम्भीक अनुसन्धानबाट प्रहरी जवानको संलग्नता देखिएको छ । उनी मात्रैले हत्या गरेका हुन् वा अन्य व्यक्ति पनि संलग्न छन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।
असई यादव कार्यरत बिओपी स्थायी नभई अस्थायी हो । त्यो कोरोना भाइरसका बेला स्थापना गरिएको पोस्ट हो । हटाइसक्नुपर्ने विभागीय निर्देशन भए पनि पोस्ट राखिराखेर त्यहाँका एसपीले गल्ती गरेको देखिएको डिआइजी मगरले बताए । एसपीका दुई/तीन वटा कमजोरी देखिएका छन् । त्यही भएर उनलाई हेडक्वार्टर तानिएको उनले जानकारी दिए ।
‘यो घटना अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण हो । यस घटनामा संलग्न जोकोहीको संलग्नता देखिए कारबाही गर्न मैले नेपाल प्रहरीको अनुसन्धान टोलीलाई सघाइरहेको छु’, डिआइजी मगरले बताए ।
प्रतिक्रिया