प्रदेश सभा उम्मेदवारको दौडबाट मुख्यमन्त्री बाहिरिए, स्वकीय सचिव भित्रिए

धनगढी । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनको सिट बाँडफाँडमा ४ सिट प्रतिनिधि सभा सदस्य भाग परेको माओवादी केन्द्रले कंचनपुर १ बाट पूर्वमन्त्री बीना मगर,बैतडीबाट नरेन्द्र कुँवर ‘बिजयसुन्दर’,कैलाली २ बाट भगत बडुवाल र कैलाली ३ बाट कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको छ ।

केन्द्रले प्रदेश सभातर्फ पनि उम्मेदवारको टुंगो लगाएको छ । सुरुमा डोटीबाट प्रतिनिधि सभाका लागि पार्टीको एकल नाम सिफारिस भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सभाको पनि टिकट पाएनन् । डोटीमा प्रतिनिधि सभा नेकपा (एकीकृत समाजवादी)को भाग परेपछि मुख्यमन्त्री भट्ट प्रदेश सभाको टिकटको दौडमा रहेका थिए ।

डोटी प्रदेश सभा (ख) माओवादी केन्द्रको भाग परेकोमा केन्द्रले पार्टीका जिल्ला इन्चार्ज तथा मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीलाई उम्मेदवार बनाएपछि मुख्यमन्त्री भट्ट उम्मेदवारको दौडबाट बाहिरिएका छ्न ।

त्यसैगरि माओवादी केन्द्रको भाग परेको प्रदेश सभा सदस्यका लागि डडेल्धुरा (क)बाट खगराज भट्ट,कैलाली २ (ख)बाट नन्दबहादुर साउँद,कैलाली ५ (क)बाट रमेशसिंह धामी,कञ्चनपुर २ (क)बाट ओमविक्रम भाट,कञ्चनपुर ३ (क)बाट टेकेन्द्रप्रसाद भट्ट, दार्चुला (ख)बाट सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, बाजुरा (क)बाट पूर्व राज्यमन्त्री कर्णबहादुर बिक,अछाम १ (ख)बाट झपट साउँद, अछाम २ (क)बाट अक्कल रावल र बझाङ (ख)बाट भीम भण्डारीलाई उम्मेदवार बनाएको माओवादी केन्द्रले जनाएको छ । कैलाली १ (ख) मा भने उम्मेदवारको अझै टुंगो नलागेको माओवादी केन्द्रले जनाएको छ । आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया