इलाम । आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विगतदेखि नै हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् ।
तर, गठबन्धनभित्रकै एक दल जनता समाजवादी पार्टी (जसपा) यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा समेत सहभागी नहुने भएको छ । साथै ‘कालो दिवस’ पनि नमनाउने भएको छ ।
जनता समाजवादी पार्टीको ११ वटा राष्ट्रिय समितिले आइतबार संयुक्त एक प्रेस विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै सोमबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएको छ ।
संविधान जारी भएदेखि नै विभेदकारी भन्दै संविधान नै पुनर्लेखन गर्नुपर्छ भन्दै आएको जसपाले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्दै संसोधनमा जोड दिएको छ ।
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, शिल्पीरदलित विशेष प्रदेश राष्ट्रिय समिति, तामसालिङ राष्ट्रिय समिति, नेवास् राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति र थरुहट राष्ट्रिय समितिले पहिचानमा आधारित १० प्लस १ प्रदेशहरु स्थापना नभएसम्म निरन्तर रुपमा आन्दोलित हुने र आवाज उठाइरहने प्रतिवद्धता जाहेर गरेको छ ।
नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको भनाई छ ।
‘यो संविधालने आदिवासी जनजाति, मधेसी, शिल्पी–दलित, खस, महिला, मुस्लिम, उत्पीडित, उपेक्षित वर्ग तथा समुदायलाई शासक समुदायजति अधिकार सम्पन्न गर्न सकेको छैन । तत्कालिन मुख्य दलहरुले षडयन्त्रपूर्वक जारी गरेको संविधान र त्यसअन्तरगत रहेको नक्कली सात प्रदेश लादेका हुन् ।
यस्ता संरचनाले देश निर्माण होइन, द्वन्द्वतिर धकेल्ने निश्चत छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण संघीयताको मूल मर्त मुलतस् पहिलो संविधान सभाले तय गरेको पहिचानको पाँच र सामर्थको चार आधारमा प्रदेशको पूनर्संरचन गर्न जरुरी छ ।
जसपा नेपालका राष्ट्रिय समितिले पहिचानमा आधारिता १० प्लस १ प्रदेशहरु स्थापना नभएसम्म निरन्तर रुपमा आन्दोलित हुने र आवाज उठाइरहने प्रतिवद्धता जाहेर गर्दछौँ ।’
२०७२ असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै संविधान जलाएर आन्दोलनमा होमिएको जनता समाजवादी पार्टीले विगतदेखि नै संविधान दिवस वहिष्कार गर्दै आएको छ ।
नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा जनता समाजवादी पार्टीसहित पहिचान पक्षधर पार्टीहरूले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो ।
संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दीसमेत भएको थियो ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्थाहरूले पनि असोज ३ लाई विरोधकका रूपमा मनाउने भएका छन् ।
विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गर्खै आएका छन् ।
नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया