अनाथ र विपन्न बालबालिकाको संरक्षक नगरपालिका

डुम्रे । आमाबाबुको निधन भएपछि टुहुरी भएकी सुशीला परियारले संरक्षक पाएकी छन् व्यास नगरपालिका–१२ कमलबारीकी–९ वर्षीया उनले संरक्षक पाएको लामो समय भएको छैन । बाबुको भारतस्थित रोजगारीको सिलसिलामा सवारी साधन दुर्घटनामा निधन भएको र आमाको पनि मृत्यु भएपछि टुहुरी भएकी सुशीलाले एक महिनाअघि मात्र संरक्षक भेट्टाएकी हुन् । वृद्ध हजुरबुबा र हजुरआमाको आश्रयमा रहँदै आए पनि सुशीलालाई पठनपाठन र समयमा खान नपाउँदा समस्या थियो । अहिले अभिभावकका रूपमा नगरपालिकाले आश्रय दिन थालेपछि खुसी लागेको उनी बताउँछिन् । मावलीतर्फको हजुरबुबा र हजुरआमाको संरक्षणमा रहँदै आए पनि पठनपाठन तथा लालनपालनमा उनलाई समस्या हुँदै आएको थियो ।

हजुरबुबा र हजुरआमाको साथमा रहे पनि खान र पढ्न नपाउँदा दुःख लागेको थियो तर अहिले यहाँ आएपछि पढ्न पाएको सुशीलाले बताइन् । ‘स्कुल आउन नपाउँदा मलाई पढ्न धेरै मन लाग्थ्यो अहिले खुसी लागेको छ पढ्न पाएको छु’, उनले भनिन्, ‘बुबा र आमासँग हुँदा पनि खाजा खान र पढ्न पाएकी थिइनँ । अहिले स्कुलमा आएपछि समयमै पढ्न र खान पाएको छु ।’ ‘मलाई धेरै पढ्न मन छ । स्कुल जान नपाउँदा धेरै दुःख लाग्थ्यो तर अहिले स्कुलमै बसेर पढ्न पाएकी छु । खुसी लागेको छ,’ सुशीलाले भनिन्, स्कुलमा सर, मिसले राम्रो गरी सिकाउनुहुन्छ र खेल्दै सिक्न र पढ्न पाएको छु । धेरै पढ्नु छ ।’

सुशीला जस्तै व्यास नगरपालिका–९ नरंगाकी ९ वर्षीया कुशुम र कल्पना मजकोटी पनि बाबुको निधन भएपछि अभिभावकविहीन बने । उनीहरूकी आमा विदेशिक रोजगारीका लागि गएकामा हालसम्म सम्पर्कविहीन भएकाले बेसाहारा बनेका हुन् । सुशीलासँगै कुशुम र कल्पनाले पनि अहिले अभिभावक पाएका छन् । उक्त नगरपालिकाद्वारा यही भदौ ५ गतेदेखि वडा–७ नरंगा सिष्मटारस्थित व्यास नगर समता विद्यालय सञ्चालनमा आएपछि सुशीला जस्ता अभिभावकविहीन बालबालिकाले अभिभावक पाएका हुन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–१ की ९ वर्षीया पल्लवी न्यौपाने पनि समता विद्यालयको आश्रयमा छिन् । उनको आमा मानसिक रोगी भएकीले बाबुले दुबैलाई बेवास्ता गरेपछि अहिले उनी समता विद्यालयको संरक्षणमा पुगेकी विद्यालय स्रोतले बतायो । अनाथ तथा अभिभावकविहीन र विपन्न वर्गका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘अनाथ र विपन्न वर्गका बालबालिका मौलिक अधिकारबाट नै वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले नगर कार्यापालिकाको बैठकबाट स्वीकृत गराई उक्त विद्यालय सञ्चालनमा ल्याएर आश्रय दिने गरेका छौँ,’ उनले भने ।

शिक्षाको पहुँचमा पुग्नुपर्ने बालबालिका कुलतमा फसेको देखेर उनीहरूको अभिभावक बनेर व्यवस्थापन गर्न विद्यालय सञ्चालन गरिएको नगर प्रमुख न्यौपानेले बताए । अभिभावकविहीन र शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँच पु¥याउने योजनासहित उक्त विद्यालय स्थापना गरिएको उनले सुनाए । ‘व्यास नगरपालिकाले केहीको आमा नभएको, केहीको बाबु नभएको र केही अतिविपन्न शिक्षाको पहुँचमा पुग्नै नसक्ने भएकाले उनीहरूलाई कल्याणकारी सोचका साथ विद्यालय सञ्चालनमा ल्याएका हौँ’, प्रमुख न्यौपानेले भने, ‘अहिले पनि विद्यार्थी आइरहेका छन् । क्षमताभन्दा बढी राख्न सकिरहेका छैनौँ । व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ ।’
समता विद्यालयमा तीन जना घरबाट आउने जाने र ४० जना यस विद्यालयमै आवासीयरूपमा रहेर पठनपाठन गर्दै आएका छन् । उक्त विद्यालय स्थापनाले टुहुरा, अभिभावकविहीन अनाथ र विपन्न वर्गका बालबालिका शिक्षाको पहुँचमा पुग्ने भएका छन् । यस विद्यालय सञ्चालनका लागि नगरपालिकाले आन्तरिक आयबाट बजेट व्यवस्थापन गरेको छ । एक प्रधानाध्यापक, चार शिक्षक, दुई सुरक्षागार्ड, एक कार्यालय सहयोगी, एक माली र एक भान्से रहेको विद्यालयले जनाएको छ ।

विद्यालयको दिगो विकासका लागि नगरपालिकाले मात्रै नभई सरकारबाट नै व्यवस्थापन गर्ने योजनाअनुरुप अगाडि बढेको वडा–७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाकाभित्रका अभिभावक गुमाएका, मावलीको संरक्षणमा रहेका र आफन्तकामा बस्दै आएका बालबालिकालाई यस विद्यालयमा आवाससहितको व्यवस्था गरी पठनपाठन भइरहेको छ । राज्यले नै अनाथ तथा विपन्न वर्गका बालबालिकाको संरक्षण गर्नुपर्नेमा नगरपालिकाले चालेका यी पाइलालाई संघ सरकारले सहयोगको व्यवस्था गरे सहज हुने स्थानीयले बताए । नगरपालिका स्थानीयको नजिकको सरकार भएकाले पनि यो कदम समयसापेक्ष रहेको हो । नगरपालिका उक्त विद्यालयमा बालबालिकाको पठनपाठनका लागि स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारीमा छ ।

प्रतिक्रिया