दुई–तीन दिनभित्रै सिट बाँडफाँड टुंगिन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई–तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँडको टुंगो लाग्ने बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँडको अन्तिम तयारीमा रहेको बताए ।

‘गठबन्धनको सिट बाँडफाँड अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ’, अध्यक्ष दाहालले भने, ‘कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँडको टुंगो लगाउँछ ।’

‘अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ’, अध्यक्ष दाहालले भने, ‘त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ, हामीले छिटोभन्दा छिटो सिट बाँडफाँडको टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ ।’

गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भन्दा आगामी मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गरे । अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

‘संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ’, अध्यक्ष दाहालले भने, ‘दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।’

यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ ।

जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले जानकारी दिए ।

प्रतिक्रिया