नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा दूध संकलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध संकलन केन्द्र स्थापना गरेको हो ।
युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध संकलन केन्द्रमा फिस्टेल डेरीले रु ८ लाख बराबरको २ हजार लिटर क्षमताको ट्यांकी, रु एक लाख बराबरको जेनेरेटर र देवचुली नगरपालिकाले रु चार लाख बराबरको अस्थायी भवनको सहयोग गरेको छ ।
दूध संकलन केन्द्रका लागि पशुपालन समूहले रु ३ लाख ऋण लगानीमा थ्री फेस लाइन, क्यान र अन्य आवश्यक भाँडाकुँडा खरिद गरी सहयोग गरेको काफ्लेले जानकारी दिए ।
दूध संकलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो । देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले कृषकले दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हटेको बताए ।
नगरप्रमुख न्यौपानेले कृषकलाई समानुपातिक ढङ्गले चोक्कर वितरण गर्ने उल्लेख गर्दै नगरभित्र दानाको मूल्य न्यूनीकरण गर्न पहल गर्ने बताए । यसअघि दूध संकलन केन्द्र नहुँदा यहाँका कृषक धारापानी र दलदले पुग्नुपर्ने अवस्था थियो ।
प्रतिक्रिया