प्रभावकारी बन्दै प्रधानमन्त्री कृषि परियोजना

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको प्रदेशस्तरीय चौथौ त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी आज सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङको आयोजनामा सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयमा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा प्रदेश–१ का १० जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयहरूले गत आर्थिक वर्ष भएको आआफ्नो कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । गोष्ठीमा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रामवलम साहले परियोजनाले गत आर्थिक वर्ष ८४ प्रतिशत वित्तीय प्रगति र ८९ प्रतिशत भारित प्रगति हासिल गरेको जानकारी गराए । परियोजना सञ्चालन भएका जिल्लामा कृषि यान्त्रीकरणतर्फ किसान आकर्षण बढेको र प्रविधिको विकास भएको परियोजनाको दावी छ ।

कार्यपत्र प्रस्तुत गर्दै उनले प्रदेश–१ मा कृषि क्षेत्रमा रहेको संभाव्यता र अवसरलाई सहीरूपमा प्रयोग गरेर माछा, धान, अलैँची अदुवा, बेसार तथा मकैजस्ता बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै किसानहरूको आय स्तरमा वृद्धि गर्नुपर्ने बताए । कृषि मन्त्रालय प्रदेश–१ का सचिव मेघनाथ तिम्सिनाले कृषि प्रविधिको विकास, किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य, चक्लाबन्दी खेतीको विस्तार तथा यान्त्रीकरणमा परियोजनाले थप जोड दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले परियोजनाका कारण जिल्लामा मछा, धान तथा तरकारी खेतीमा किसानको आकर्षण बढेको बताए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केन्द्रीय कार्यालयका उपसचिव जितबहादुर चन्द परियोजना देशभरी नै प्रभावकारी भएको बताए । गोष्ठीमा कृषि यान्त्रीकरण, उन्नत प्रविधिको प्रयोग, उत्पादन लागत घटाउने, विषादी प्रयोगमा न्यूनीकरणजस्ता विषयमा छलफल भएको परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम साहले बताए ।

प्रतिक्रिया