विद्यालयको क्यान्टिनमा स्थानीयले बाँधे बाख्रा

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक बिद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रूपमा प्रयोग गर्दै आएको पाइएको छ । वडा–७ कै स्थानीय गणेश साउँदले विद्यालयको नाममा रहेको उक्त जमिन र भवन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो ।

गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रधानाध्यापक उत्तर बहादुर कुँवरले बताए । विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउँद जमिन आफ्नो रहेको दावी गर्छन् ।

०५२ सालमा शिखरपुर स्वास्थ्यचौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्काे ठाउँमा सारिएको थियो । स्वास्थ्यचौकी अर्काे ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउँदले बताए । उक्त भवनलाई विद्यालयले दिवा खाजा बनाउने क्यान्टिनको रूपमा प्रयोग गर्दै आएको थियो ।

तर गणेश साउँदले भने स्वास्थ्यचौकीलाई आपूmले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । ‘०५२ सालमा स्वास्थ्यचौकीलाई दान गरेको हुँ, स्वास्थ्यचौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ’, उनले भने । नापीको टोली बेलाएर नापजाँच गरेको विषयमा आफूजानकार नरहेको उनी बताउँछन् । शनिबार उक्त विषयको विवाद समाधानका लागि गाउँपालिका अध्यक्ष अम्मरबहादुर कँुवर सहितको टोली छलफलमा बसेको भए पनि स्थानीय गणेशबहादुर साउँदले आपूmले उक्त संरचना नछोड्ने अडान राखेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया