पीडित भन्छन् बडाल निर्दोष छन्, अदालतले सुनायो सजाय

दार्चुला । जिल्ला अदालत दार्चुलाले पीडितको बयानको आधारमा निर्दोष सावित गरेका एक अभियुक्तलाई उच्च अदालत र सर्वोच्च अदालतले कैद सजायको फैसला सुनाएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर २ घर भएका अभियुक्त (मानसिंह बडाल)लाई उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउदै ४ वर्ष कैद सुनाएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालतकै फैसलालाई सदर गरेको हो । पीडितले निर्दाेष भएको बयान दिंदा दिंदै पनि अदालतले सजाय सुनाएको भन्दै मानसिंह बडाल पुनरावलोकनमा जाने भएका छन् ।

२०७१ साल बैशाख २० गते गाउँकै कुकुरेगाड खोलामा घट्ट पिस्न गएका किशोरीमाथी बडालका अन्य दुई जना साथीहरुले जवरजस्तीकरणी गर्ने प्रयास गरेका थिए । सोही आरोपमा एक नाबालिग सहित तीनजनाविरुद्ध घट्ट आएका किशोरीहरुले सामूहिक रुपमा जवरजस्तीकरणीको प्रयास गरेको आरोप लागाएका थिए ।

सामुहिक रुपमा जवरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा २०७१ बैशाख २५ गते दार्चुला जिल्ला अदालतमा पीडित पक्षले उजुरी गरेको थियो । अतः यो मुद्धा जिल्ला अदालत दार्चुलामा १ वर्ष चल्यो ।

पीडितहरुको बयानका आधारमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको ईजलासले बडाललाई निर्दोष भएकोले र अर्का अभियुक्तलाई नाबालक भनी सफाइ दिएको थियो । तेस्रो व्यक्ति अर्का एक अभियुक्तलाई ९ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

त्यसपछि ९ वर्ष जेल सजाय सुनाइएका अभियुक्त तीनै जनाले सामूहिक रुपमा करणी गरेको तर आफूबाहेकका दूईजनाले सफाइ पाएको भन्दै उच्च अदालत दिपायल गएका थिए । जव कि बडाललाई पीडितहरुकै बयानका आधारमा जिल्ला अदालतले सफाइ दिएको थियो ।

त्यसपश्चात २०७३ कात्तिक ९ गते उच्च अदालत दिपायलका न्यायाधीस द्वय यज्ञप्रसाद बस्याल र वीरेन्द्रकुमार कर्णको सयुक्त ईजलासले जिल्ला अदालत दार्चुलामा ९ वर्ष कैद सजाय सुनाएका अभियुक्तको सजाय घटाएर ४ वर्ष कैद र सफाई पाएका अभियुक्तको ४ वर्ष कैद र नावालक अभियुक्तको २ वर्ष कैदको फैसला सुनायो ।

उच्च अदालतको फैसला चित्त नबुझेकोले पुनः अभियुक्त २ जनाले सर्वोच्च अदालतमा निवेदन दिए । अभियुक्त बाहिर बसेको बेला मुद्धा चलाउन नपाईने भन्दै सर्वोच्च अदालतले दुई जना अभियुक्तलाई फागुन १८ गते महेन्द्रनगरमा थुनछेकको आदेश दियो । उनीहरुलाई महेन्द्रनगर थुनामा ४ महिना राखेपछि सर्वोच्चले धरौटीमा रिहा गरी तारेखमा छोड्यो ।

त्यसपछि जिल्ला अदालत दार्चुलाले ९ वर्ष जेल सजाय सुनाएका अभियुक्तलाई दार्चुला जिल्ला करागारमा राख्यो । पुनः उनी धरौटीमा रिहा भए ।

जिल्ला अदालत दार्चुला र उच्च अदालत दिपायलको फैसाल माथि छानविन गरी सर्वोच्च अदालतले २०७८ पुष ९ गते उच्च अदालतको फैसला मिलेको देखिंदा सदर गरी ३ जना अभियुक्तलाई आधार मान्दै २ जनालाई ४ वर्ष कैद र १ जना नाबालकलाई २ वर्ष कैद फैसला सुनायो । सर्वोच्च अदालतको उक्त फैसलामा जाहेरीबालाहरुले जुन जिल्ला अदालतमा उपस्थित भई अभियुक्त मानसिह बडालको हकमा यो व्यक्ति निर्दोष हो भनी बयान दिएको थिए । सर्वोच्चले आफूमाथि पनि सजायको फैसला सुनाएपछि बडाल पुनरावलोकनमा जाने भएका छन् ।

आफू घटना घटेको ठाउँमा भएको भएपनि घटनामा आफ्नो कुनै संलग्नता नरहेको वडालले बताएका छन् । जुन कुरा पीडित पक्षले जिल्ला अदालतमा समेत स्वीकारेका छन् । मानसिंह बडाल निर्दोष भएको र आफूहरुले फेरि पनि निर्दोष भएको भनि बयान दिने पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया