जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्व । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरुसुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा.गणेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले केन्द्रमा ग्यास्ट्रिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।

हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन् । झन् यही समस्यासम्बन्धीको औषधि गएको वर्ष पुस महिनादेखि नै नभएको डा.अधिकारीले बताए । औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ । डा. अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ । साथै बिजौरीस्थित आयुर्वेद चिकित्सालयबाट पनि केही औषधि ल्याउन लागिएको छ ।

सेवा प्रवाह चलिरहेको बेलामा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए । यसैगरी ग्यास्ट्रिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् । रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।

यसैगरी रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय ९२ जनाले सेवा लिएका छन् । आइतबार र सोमबार आयोजना गरिएको बाल तथा स्त्रीरोगसम्बन्धी शिविरमा १ सय ३७ महिला तथा ७ सय ५५ विद्यार्थी बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो ।

सिस्ने गाउँपालिकाको युवा विकास केन्द्रको संयोजनमा नेप्लिज एसोसिएसन अफ फोलोरिडाको आर्थिक सहयोगमा पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ग्लोबल नेप्लिज आइसिटी कोनसोरटिइमको प्राविधिक सहयोगमा रुकुमकोटमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सेवा लिएकामध्येमा १२ मुटु रोगको बिरामी फेला परेकामा दुई जनाको भने शल्यक्रिया नै गर्नुपर्ने देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । सात महिनाका अटम खड्का र ११ वर्षको रेजिना बुढाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको हो । यस्तै १० जनाको पुनः स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।

एक महिलाको पाठेघरको मुखको क्यान्सर देखिएको छ भने अन्य पाँच जनामा क्यान्सर भएको हुनसक्ने आशंका गरिएको छ । पाठेघर खस्ने समस्या ६ जनामा र स्तन क्यान्सरको आशंका एक जनामा गरिएकोे छ । यस्तै रुघाखोकी, सामान्य पेट दुखाइ, कानको समस्या, ज्वरो र ग्यास्ट्रिकका बिरामीलाई औषधि वितरण गरिएको छ । अन्यको अवस्था सामान्य रहेको पाइएको छ । आएका सबैलाई आवश्यक सल्लाह सुझाव पनि दिइएको सो शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पिएचए नेपाल काठमाडौँका चिकित्सक सहभागी भएको स्थानीय युवा विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया