पहिले नाग, अहिले त्रिशूल

क्यानभासमा चित्र कोर्दाकोर्दै खै के भयो–भयो । मलाई आफ्नो निधार विशेष किसिमले सजाउन मन लाग्यो । टीका त लगाउँथेँ नै, त्यो टीकालाई विशेष बनाउन मन लाग्यो । क्यानभासमा जस्तै निधारमा पनि नयाँ सिर्जना गर्ने चाहना भयो । कुनै विशेष आकृति बनाउने निर्णय गरेँ, मलाई नाग बनाउनु उपयुक्त लाग्यो । आफूलाई सुहाउने डिजाइन तयार पारेँ ।
कतिले त मलाई मेरो टीकाकै कारणले पनि याद गर्ने गरेका होलान् । मलाई अरू कसैले प्रेरणा दिएको होइन, आपैँmलाई यस्तो टीका लगाउन मन लागेको हो । पहिलोचोटि यस्तो टीका कहिले लगाएँ, आपैँmलाई थाहा छैन तर पन्ध्र वर्षचाहिँ पक्कै भयो । नागको चित्र लामै समय टीका बनेर सजियो मेरो निधारमा । नागलाई विष्णु भगवान्को प्रतीक मानिन्छ । नागको आकृति मलाई मन पर्‍यो, सुहाएजस्तो लाग्यो । पछि एकाएक मेरो नागप्रेम हरायो । यसो हुनुमा खास कारण केही छैन । त्यत्तिकै मन लाग्न छोड्यो । त्यसैले अहिले मेरो निधारमा नाग छैन । त्रिशूलको चित्र बनाउन थालेकी छु ।
त्रिशूलको ठूलो धार्मिक महत्त्व छ, हाम्रो परम्परामा । शिव भगवान्को प्रतीक मानिन्छ । शिव भगवान्को हतियार वा गहना पनि हो यो । शिवसँगै जोडेर अर्धनारीश्वरको पनि चर्चा गरिन्छ । उनी आफ्नो शरीरमा आधा शक्ति नारीको मान्छन् । शिव र पार्वतीको आधाआधा शरीर जोडिएर बनेको फोटो पनि त देखिन्छ नि † यस अर्थमा मेरो टीका फेसन नभएर धर्मसंस्कृतिको पनि प्रतीक हो । अब त यो टीका मेरो बानी नै भइसक्यो । कहिलेकाहीँ हतारमा लगाउन बिर्सिन्छु पनि । त्यस दिन कताकता के बिर्सिएजस्तो, के नपुगेजस्तो खल्लो पो हुन्छ त † यो टीका मेरो पहिचानै बनिसक्यो, एकखाले गहना । मलाई चिन्नेहरूलाई पनि मेरो निधारमा यस्तो टीका देख्ने बानी परिसकेछ । मैले लगाउन बिर्सिएका दिन उनीहरूलाई पनि के नपुगेजस्तो लाग्दो रहेछ क्यारे, सोधिहाल्छन्– ‘आज खोइ त तपाईंको त्रिशूल, लगाउन बिर्सिनुभयो ? कि छोडिदिनुभयो ?’
देशबाहिर जाँदा पनि यो टीका लगाएकै हुन्छु । पाकिस्तान जाँदाचाहिँ लगाउँदिनँ । त्यहाँ त्रिशूललाई उति राम्रो मान्दैनन् । अरू त जुन देश जाँदा पनि लाएकै हुन्छु । विदेशीलाई कसले के लगायो, सुहायो कि सुहाएन भनेर मतलबै हुँदैन । सबैको आ–आफ्नै स्वतन्त्रता, आफ्नै शैली । बढी खोजीनिती हुने त हाम्रो देशमा मात्रै हो । यहाँ त सुरुसुरुमा कस्तो टीका लगाएको भनेर अचम्म नमानेका पनि कहाँ हुन् र ? नाग कसैलाई डरलाग्दो पनि त लाग्छ नि ? तर, मलाई त आफ्नो टीका कहिल्यै त्यस्तो लागेन, मज्जाले सुहाएजस्तो लाग्छ । मेरो परिवारमा पनि सबैलाई राम्रो लाग्छ । कसैले नराम्रो भयो भनेका छैनन् ।
अब त मलाई आफ्नो निधार नै एउटा क्यानभासजस्तो लाग्छ । जहाँ हरेक दिन एउटा चित्र बनाउनुपर्छ । यसमै अभ्यस्त भइसक्यो मेरो दैनिकी । कुनै दिन हतारमा नभ्याए मात्र, नत्र अनिवार्य रूपमा मेरो निधारमा त्रिशूल सजिएकै हुन्छ ।

प्रतिक्रिया