महिलामाथि हुने हिंसाका घटना बढ्दो

हत्या लुकाउन शव जलाइयो

शव जलाइएकाे स्थान

काठमाडौं । पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै गएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाले समाजलाई समेत त्रसित बनाएको छ । देशव्यापीरूपमा भइरहेका बालात्कार, दाइजो, घरेलु हिंसा, बोक्सीको आरोपजस्ता घटनाले समाजलाई आक्रान्त बनाउँदै लगेको छ । पछिल्लो एक साताको अवधिमा पनि महिला हिंसाका थुप्रै घटना भएका छन् । यसैक्रममा दार्चुलास्थित शैल्यशिखर नगरपालिका–१ बारील बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या आरोपमा फरार रहेका भोजराज खडायतलाई प्रहरीले पक्राउ गरेको छ । भोजराजले आफ्नै घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलाएर अनिभाको हत्या गरेको आरोप प्रहरीको छ । बुधबार अनिभाको जलेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला, बैतडी, इलाका प्रहरी कार्यालय गोकुलेश्वर र प्रहरी चौकी खोचलेकको संयुक्त अनुसन्धानपछि भोजराजलाई बैतडीस्थित दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट नियन्त्रणमा लिन सफल भएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भोजराजले अनिभालाई घरबाटै बोलाई बारीमा लगेर करणी गर्न खोजेका थिए । उनीहरूबीच विवाद हुँदा भोजराजले अनिभलाई ढुंगाले हानी घरतर्फ भागेका थिए । भाग्दै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई भोजराजले अचेत अनिभालाई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रहरीले उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली दुई थान र नाकमा लगाएको नथियाँ एक थानसमेत बरामद गरेको छ । प्रहरीका अनुसार अनिभाको श्रीमानको सात वर्षअघि मृत्यु भएको थियो । उनको दुई छोरी र एक छोरा छन् । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार भोजराजविरुद्ध जवरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट सात दिन म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

महिलामाथि हुने हिंसाका घटनामध्ये बोक्सीको आरोप पनि एक हो । बोक्सीको आरोप लगाएर महिलामाथि पटक÷पटक दुव्र्यवहारका घटना हुने गरेको छ । खासगरी तराइका जिल्लाहरूमा यस्ता घटना बढी हुने गरेका छन् । पछिल्लोपटक यस्तै घटना महोत्तरी जिल्लाको सदुरमुकाम जलेश्वरमा भएको छ । जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि निर्घात कुटपिट भएको छ । जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय सोमन भनिने सोमारी देवीसहितका व्यक्तिले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले जनाएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरूले दुबै महिलालाई कुटपिट गरेका रहेछन्’, प्रहरी निरीक्षक राईले भने, ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय भुलन राम र २८ वर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरूबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार रहेका अन्यको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसैगरी एक बालिकालाई जबर्जस्ती करणी गरको आरोपमा प्रहरीले इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहान पनि पक्राउ परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । चौहानलाई पनि म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे तत्काल खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।

यसअघि गत बिहीबार मात्र थप दुई बलात्कारका घटना सार्वजनिक भएका थिए । झापामा ११ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राती बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

यसैगरी, ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुंगा चिशंखु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई विभिन्न प्रलोभनमा पारी मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसअघि गत साता पनि ललितपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी थिइन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ इमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दीपकुमार शर्मा छन् । उनलाई गत आइतबार प्रहरीले पक्राउ गरेको थियो । सोही अवधिमा बाँकेमा पनि एक १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । बैजनाथ गाउँपालिका–८ बस्ने किशोरले ती किशोरीलाई फेसबुकमार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो । खोरमा राजकुमार थारूलगायत पाँच जनाले बलात्कार गरेको र दुई जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया