काठमाडौं । ललितपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा महालक्ष्मी नगरपालिका–४ इमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दीप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेमा पनि १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरूषले बीचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने किशोरले ती किशोरीलाई फेसबुकमार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।
खोरमा राजकुमार थारूलगायत पाँच जनाले बलात्कार गरेको र दुई जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया