नयाँ सरकारसँगै सिओसी कक्षाका सहभागी सक्रिय

कालिकोट । स्थानीय तहमा नयाँ सरकार आएसँगै सिओसी कक्षाका सहभागीहरू सक्रिय बन्दै आएका छन् । विगतका दिनहरूमा बालविवाह, छाउपडी प्रथा लगायतका समाजमा रहेका विभिन्न कुरीति कुसंस्कार न्यूनीकरण गर्नतिर लागि परेका बालबालिकाहरू अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि केही आशा पलाएको बताउने गर्छन् । जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा रहेका एक हजार बालबालिकाहरूले नयाँ जनप्रतिनिधिको आगमनसँगै समाजमा रहेका विभिन्न हिंसा न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग अपेक्षा गरेको रास्कोट नगरपालिकाकी सिओसी सहजकर्ता सुक्ला सिम्खडाले बताइन् ।

निवर्तमान जनप्रतिनिधिहरूले बालबालिकाको क्षेत्रमा खेलेको भूमिकालाई मध्यनजर गर्दै अब नयाँ जनप्रतिनिधिहरूले झन् महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा आपूmहरूमा रहेको सिओसी सहजकर्ता वसन्ती विष्टले बताएकी छन् । एक हजार बालबालिकाहरूले विभिन्न परम्परागत हानिकारक अभ्यास न्यूनीकरणमा लाग्दै गर्दा अभिभावक, नागरिक समाज, मानवअधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधिलगायत अन्य नागरिकहरूको सहयोगमा विभिन्न कुरीति न्यूनीकरण भएको सान्नीत्रिवेणी गाउँपालिकाकी सिओसी सहजकर्ता आशा केसीले बताएकी छन् ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजीकरणमा तीन स्थानीय तहमा विभिन्न कार्यक्रमहरू लागू भइरहेका छन् र यसअन्तर्गत बालविवाह, छिटो विवाह र जवरजस्ती विवाह न्यूनीकरणमा प्लान इन्टरनेसनल नेपालले विभिन्न क्रियाकलाप गर्दै आएको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताएका छन् । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा पहिलेको तुलनामा अहिले विभिन्न हिंसाहरूमा कमि भएको कार्यक्रम संयोजक शिवशंकर उपाध्यायले बताएका हुन् । उपाध्यायका अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरू सिओसी कक्षा सञ्चालन पछि नियमित विद्यालय जाने गरेका छन् ।

बालबालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका कारण बालबालिकाको व्यक्तित्व विकाससँगै आफ्नो हक र अधिकारका विषयमा थाहा पाएको सिओसी कक्षामा आवद्ध बालबालिकाहरूले बताउने गरेका छन् । नयाँ सरकारसँगै नयाँ आशा बालबालिकाहरूमा पलाएको उनीहरूको भनाइ छ ।

रास्कोट नगरपालिका–२ का सिओसी कक्षाका सदस्य मनिसा सिंखाडाले पहिलेको तुलनामा अहिले बालबालिकाहरूको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएपछि बालबालिकाहरूलाई महत्वपूर्ण शिक्षा हासिल भएको बताएकी छन् । यस्तै रास्कोट नगरपालिका–२ की दर्पना लुवारले हिजोका दिनमा आपूmहरूको बोल्नेकलादेखि लिएर व्यक्तित्व विकाससमेत भएको बताउँदै आगामी दिनहरूमा बालबालिकाको क्षेत्रमा काम गर्ने बताएकी छन् । सिओसी कक्षामा आवद्ध एक हजार बालबालिकाहरू विभिन्न हिंसाहरूलगायत अन्य विकास निर्माणका काममा खबरदारीसमेत गरिरहेका छन् । नयाँ सरकारसँगै हरेक विकास निर्माणका योजना छनौटदेखि लिएर विभिन्न कार्यक्रममा बालबालिकाहरूको अनिवार्य उपस्थितिका लागि पनि कदम चालिरहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया