उप्रेतीको गुनासोभित्र चियाउँदा

अरुणबहादुर खत्री ‘नदी’

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा लागि परेका हरि उप्रेतीको ‘गुनासो’ नामक गजल सङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र ९० वटा गजल राखिएका छन् । यस कृतिको पहिलो गजलभित्र ‘कतै कलाकार चिप्लिए, दर्शकलार्ई हाँसो भो जानेर वा नजानेर चिप्लिए सबैलाई चासो भो’ गजलकारले लेखेका छन् । ‘नजिक हुनेले नै होे यहाँ पछाडिबाट छुरा हान्ने आफ्ना र परार्ई पढ्दा पढ्दै घोटिन्छ जिन्दगी’ उनले आफ्नो गजलमा भनेका छन् । गजलमा कविताको आवाज उतार्न सक्नु पर्छ । गजलका सेरहरुमा मुक्तकीय प्रभाव दिन सक्नुपर्छ । ‘थाहा छैन किन हो त्यो गाउँघर बिरानो लाग्छ मान्छे मान्छेभित्र जन्मिएको थर बिरानो लाग्छ’ उनले गजलमा लेखेका छन् । गजल उत्कृष्ट र सुन्दर बन्नका लागि गजलको रुप पक्ष र भाव पक्ष दुवै सबल हुनु आवश्यक छ । रुप पक्षका दृष्टिले सङ्ग्रहभित्रका सबै गजलहरु सुसज्जित छन् । मानवीय संवेदना, प्रेम, घात प्रतिघात, देशभक्ति र माटोप्रतिको प्रेम र प्रकृतिचित्रणको कोमल भाव उनका गजलभित्र भेटिन्छन् । गजलकार उप्र्रेती सफल कवि पनि हुन् । आफूले भोगेको र देखेको समयलाई आफ्नो चेतना तथा अनुभवले महसुस गर्ने र त्यसको सजीव तस्बिर उतार्ने प्रयासको उपज हो यो गजलसङ्ग्रह । यसभित्रका गजलले कहीँकतै कसैको मन छोयो भने त्यही नै पर्याप्त हुन्छ ।
मान्छे बस्ने मेरो घर तिम्रो अदालत होइन
तिम्रा हरेक सवाल जवाफ जमानत होइन

‘जति रमाऊ तिमी त्यो त केबल तागत हुँदा न हो जब शरीर गल्छ औषधि खुवाउने देवी हुन् आमा’ उप्रेतीले गजलमा भनेका छन् । उप्रेतीका गजल भने अधिकांश कोमल भावका नै छन् । यिनका गजलमा जिन्दगीका विवशता, उमंग–उत्साह, उपदेश पनि रहेका छन् । केही गजलले सूक्ष्य व्यङ्ग्य धारणा पनि गरेको पाइन्छ । गजलमा प्रशस्तै नीति नियमहरु पालना गरेको हुनुपर्छ । यस्तै, वरिष्ठ भन्नेहरुका गजलमा पनि संरचनात्मक गल्तीहरु भेटिन्छन् । गजल संरचनाका सूक्ष्मभन्दा सूक्ष्म कुरासँग परिचित हुँदै साधनारत् भइरहेमा हामी गजलकार उप्रेतीबाट सशक्त गजलहरु निश्चित रुपमा प्राप्त गर्नेछौं । उनका गजलमा एकपछि अर्को वर्ष जन्मोत्सव मनाउँछ मान्छे मृत्युको नजिक पुुग्दैछ तर पनि रमाउँछ मान्छे बोलेको छ । देशको रक्षा गर्नेहरु हुन्छन् स्वाभिमानी तर बर्दी लगाउँदैमा कसैको सान हुँदैन उनले गजलमा लेखेका छन् ।
जनता तिम्रै लागि पसिना बगाउने श्रमिक ठान्छौ
सक्छौ भने आफ्नो आहारा आफैँ जुटाए हुन्छ

नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै गरमागरमको विषय बनेको छ । गजलका मञ्चहरु निकै सशक्त छन् । आज नयाँ पुस्ताका लेखकहरुको जन्म गजल विधाबाट हुन थालेको छ । गजलको सुरुवात् शृङ्गारिकताबाट सुरु भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिबिम्वित हुनुपर्छ । जीवनका अनुभूति प्रेम विछोडका समसामयिक घटनाक्रमलाई गजल लेखेर उप्रेतीले चित्रण गरेका छन् । गजल लेखनको मेल यतिखेर मेची–महाकालीसम्म मात्र नभएर विदेशिएका नेपालीले समेत चुर्लुम्म डुबेर सन्तोषका सुस्केराहरु पस्किएर आनन्दको अनुभूति गरिरहेका छन् । गजलको प्रयोग फारसी, अरबी र उर्दू हुँदै हिन्दीमा आएर समृद्धितर्फ उन्मुख भएको छ । फारसी वा उर्दूमा गजलले उच्च स्थान बनायो । हिन्दी जगत्मा पनि गजल निकै चम्कियो । उप्रेतीका गजलले समाज, देश, आफू, प्रेम, प्रणय, वियोग आदिलाई समेटेका भए पनि बढी मात्रामा मन नै छचल्किएको छ । हृदयपक्ष सवल भएर गजलमा गुनगुनाइरहेको देखिन्छ । तथापि उनका गजलले जीवनको गहिराई खोज्ने प्रयास गरेका छन् । देश के हो र माटो न हो सक्छौं फुटाए हुन्छ सिद्धान्त सिसा सम्झनेले, सक्छौै टुटाए हुन्छ उनले गजलद्वारा प्रस्तुत गरेका छन् ।
नाताहरु छन् अनेकौ र त सन्जाल हो जिन्दगी
धेरै छन् सत्य जवाफ यहाँ सवाल हो जिन्दगी

साहित्यमा उनी कविता सिर्जना गर्दछन्, तर मूलतः उनले आफूलाई गजलमा स्थापित गर्न खोजिरहेका छन् । कहिलेकाही हराउँछु म मायाको सागरमा प्रेमको मोती टिप्न सधैँ कल्पनामा डुबेको छुु उनले गजलमा लेखेका छन् । इतिहास लेख्न कलम लिएर उठ्नुपर्छ स्वाभिमान जोगाउन जंगिएर उठ्नुपर्छ भनेर उनी गजलमा लेख्छन् । ‘गुनासो’ मा सङ्ग्रहीत गजलहरुमा कोमलता, शृङ्गारिकता, प्रणय भाव तथा सामाजिक यथार्थ चित्राङ्कित भएको पाइन्छ । पाठकलाई उनले लेखेका यी गजलहरु मन पर्छन् भन्ने विश्वास लिन सकिन्छ । यस सङ्ग्रहभित्र भावनात्मक संवेदनशीलताका अनेकौ अभिव्यक्ति छन् । गजलकारले आफूले देखेका, भोगेका, सुनेका र अनुभूति गरेका धेरैभन्दा धेरै कुराहरुलाई आफ्ना गजलका सेरहरुमा समेटेका छन् ।
म पनि त लुकीलुकी हेर्दै थिए तिमीलाई नै
सुटुक्क आयौ अनि यो मनभित्र बसेर गयौ

भुटानमा जन्मेर नेपालमा किशोर अवस्था गुजारेका र नितान्त नवीन परिवेश अमेरिकामा सपरिवार स्थापित सन्तानले आफ्ना आमा, बाबु र आफन्तलाई बिर्सन्छन् भन्ने भनाईलार्ई उप्रेतीले सोझै चिरेका छन् । उनका गजलका विषयवस्तुमा व्यापकता छन् र आफूले प्रस्तुत गर्ने विषयमा स्पष्ट छन् । आफ्ना सोच विचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भन्नुलाई सोझो बाङ्गो किसिमले व्यक्त गरेका छन् । उनको यो लेखाइले नयाँ पुस्ताका लेखकलाई गजल लेख्न ठूलो हौसला मिल्ने अपेक्षा राख्न सकिन्छ । यस सङ्ग्रहको साथमा गजलकार उप्रेतीको गजल भण्डारमा ठूलो फलदायक मिल्नेछ ।

पुस्तकः गुनासो
प्रकाशकः युनिभर्सल बुक्स
गजलकारः हरि उप्रेती
प्रकाशन मितिः प्रथम २०७८ सामाखुसी मार्ग, ९३५÷५४,
सरकारीधारा, काठमाडौं
पृष्ठः १०३
मूल्यः रु.१५५।–

प्रतिक्रिया