हेटौंडा । लगातारको वर्षाले बाटो अवरुद्ध गरेपछि कैलाश गाउँपालिका वडा नम्बर—५ मा उत्पादित तरकारी बारीमै थन्किएकाे छ । कैलाश—५ को कालीखोला हुँदै उत्तरी मकवानपुरको ‘बेमौसमी तरकरीको राजधानी’ थाहाको डाँडाबास र भञ्याङको बाटो पहिरोले अवरुद्ध बनाएपछि तरकारीहरु बारीमै कुहिने अवस्थामा पुगेको किसानहरुले गुनासो गरेका छन् । कैलाश—५ को कालीखोलाआसपास करिब १ सय भन्दा बढी परिवारले तरकारी खेती गर्ने गरेका छन् । वार्षिकरुपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका किसानले जेठ पहिलो सातादेखि नै वर्षाले बाटो अवरुद्ध हुँदा तरकारी बिक्री गर्न पाएका छैनन् ।
उत्पादित तरकारी बारीमै कुहिन थालेपछि तरकारी खेतीबाट जीविका चलाइरहेका कैलाश—५ का सुमन रुम्बाले घरपरिवार चलाउन समस्या भएको बताएका छन् । उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म लैजान नसकेकाले पशुचौपायालाई खुवाउनुपरेको रुम्बाले बताएका छन् ।
‘जेठ पहिलो साता बजारमा पुर्याउनुपर्ने मुला सडकका कारण बारिमै बडेका छन् । सलाद/तरकारीमा प्रयोग हुने मुला बिक्री गर्न सकिएको छैन । बारिका मुला भैंसीलाई खुवाउनु बाध्य हुनुपरेको छ,’ उनले चिन्ता जनाए । सडक मर्मत गर्न पटकपटक वडा तथा गाउँपालिकालाई आग्रह गर्दा वास्ता नगरिएको उनले बताएका छन् ।
उनले भने, ‘निर्वाचनका बेला किसानलाई आत्मनिर्भर बनाउने ठूला सपना देखाए । लाखौं खर्च गरेर तरकारी उत्पादन गर्यौं । बिक्री गर्न नसक्दा हामी मर्कामा छौं । नेताहरुका कुरा चुनावी नारामात्रै हुन् त ?’
किसान रामबहादुर पाख्रिनले ६ रोपनीमा मुला रोपिएको भन्दै गुनासो गरे । उनले भने, ‘तरकारी बेच्ने बेलामा सडक अवरुद्ध छ । दुःख गरेर रोपेको तरकारी फाल्नुपर्ने अवस्था आउन थाल्यो । सडक सुचारु गरे कृषकका लागि ठूलो राहत हुनेछ ।’
‘हामीले सयौं क्वीन्टल तरकारी खेर फाल्नुपर्ने अवस्था आएको छ,’ किसान पाख्रिनले भने–’हामीले वडा तथा पालिकामा भनेका छौं । तर, चासो नदिएन । हामीले यस विषयमा पालिका उपाध्यक्ष बालकुमार मल्ललाई बारिमा तरकारी कुहियो भन्दै जानकारी गराउँदासमेत किन सडक मर्मतमा ढिलाइ भएको हो ?’
उपाध्यक्ष मल्लले भने पालिका प्रवेश गर्ने बाटो मर्मत गरिरहेका कारण टोली पठाउन नसकिएको बताए । उनले भने, ‘हामीलाई खानीले सहयोग गरेको छ । सहयोगको सदुपयोग गर्न लागेको हौं । अब चाँडै टोली पठाउनेछौं ।’ किसानले करिब १ महिना अघिदेखि सडक मर्मत गर्न पालिकालाई अनुरोध गर्दा पनि बेवास्ता गरी किसानको पसिनाको कदर गर्नुको सट्टा पालिका प्रवेश गर्ने बाटो मर्मत गरिरहनुले किसानले पालिकाबाट राहत पाउलान् भन्नेआश मरिसकेको बताएका छन् । वर्षाको बेला कालीखोलाआसपास किसानलाई तरकारीजन्य उत्पादन बजार पुर्याउन सधैं सास्ती हुँदै आएको छ ।
तरकारी, दक्षिण तथा दक्षिणपूर्वी एसियाका भान्छामा विभिन्न सागसब्जी, तेल तथा मसला मिलाएर पकाइने एक प्रकारको परिकार हो । वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि पनि स्थानीय बजारमा तरकारीको मूल्य आकाशिएको छ । दुई साता अवधिमा तरकारीको मूल्य दोब्बरले महँगाे भएकाे हाे । हेटौंडास्थित सब्जिमण्डीमा तरकारी किन्न आएका उपभोक्ताले केही दिनकै बीचमा सबैजसो तरकारीको मूल्य बढेको बताए ।
‘लगातारको वर्षाले तरकारी बिग्रेको छ । यही भएर हाल पाउनै गाह्रो भएको छ,’ सब्जीमण्डीका तरकारी व्यवसायी वीरेन्द्रराज जोशीले भने, ‘एक हप्तामै मूल्य दोब्बर भएको छ ।’ उनका अनुसार हाल बजारमा खुर्सानी, टमाटरलगायत तरकरी स्थानीय क्षेत्रबाट उत्पादन भएका छन् । तर, सिजनमै वर्षाले क्षति पुगेपछि किसानसमेत चिन्तामा छन् । उनका अनुसार वर्षाले धेरै तरकारी नोक्सान गरेका कारण हिउँदमा पहिलो लटमा हुने उत्पादनमा निकै ह्रास आएको छ । जसका कारण हाल अभाव भएर मूल्य वृद्धि भएको हो । ‘हिउँदमा हुने उत्पादनको पहिलो लट सकिएर दोस्रो लट बजारमा आउन नसकेको अवस्था छ,’ एक व्यापारीले भने, ‘दोस्रो लटको उत्पादन बजारमा नआउँदासम्म मूल्य घट्ने सम्भावना देखिँदैन ।’
मकवानपुर
प्रतिक्रिया