रसुवामा चोरको बिगबिगी, होटल–पसल बेलुकी साढे ८ बजेपछि बन्द

रसुवा । रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ ।

जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो ।

वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो ।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए । ‘हामीले आजदेखि नै लागू हुने गरी निर्णय गरेका छौँ’, उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ ।’

जिल्लामा श्रृंखलावद्ध चोरी सुरु भएको २७ दिन भयो । पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन् । गत वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन् । चोरले अधिकांश घर तथा सहकारी संस्थाबाट नगद चोरी गरेको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन् । चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया