पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानरीक्षकमा (एआईजी)मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले डीआईजीहरु क्रमशः उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पुजा सिंहलाई एआईजी बढुवामा सिफासिर गरेको हो ।

बढुवा सिफारिसमा परेका पाँचै जना वर्तमान आईजीपी धिरजप्रताप सिंहका व्याची हुन् । यसअघि नेपाल प्रहरीमा एक एआईजी र सशस्त्र प्रहरीमा एक एआईजीलाई बढुवा गरिएको थियो । बढुवा सिफारिसमा परेका पाँचै जना प्रहरीमा अब्बल मानिन्छन् ।
डीआईजी सिंह भने प्रशासनतर्फको एआईजी सिफारिसमा पर्ने पहिलो प्रहरी महिला अधिकृत हुन् । यसअघि डा. आशा सिंह प्राविधिकतर्फ एआईजीसम्म पुग्ने पहिलो प्रहरी महिला अधिकृत थिइन् । तर, सिंह भने प्रशासनतर्फ एआईजीमा पुग्ने पहिलो महिला अधिकृत बन्नेछिन् ।

तत्कालीन डीआईजी पार्वती थापा एआईजीमा पुग्ने दावी हुँदाहुँदै पनि सरकारले उपेन्द्रकान्त अर्याललाई एआईजी बनाएर आईजीपी नियुक्त गरेको थियो । बढुवामा चित्त नबुझेर थापा सार्वोच्च अदालत पुगे पनि उनले अवकाश पाइसकेपछि मात्र सर्वोच्चले फैसला गरेको थियो । उक्त फैसला भने अर्यालकै पक्षमा थियो ।

त्यसो त सिंह मधेश प्रदेशमा डीआईजीसम्म पुग्ने पहिलो प्रहरी महिला अधिकृत पनि हुन् । प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेकी सिंह प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्त पनि हुन् ।

बढुवा सिफारिसमा परेकामध्ये डीआईजी सुवेदी भने प्रहरी संगठनमा काविल अधिकृतमध्येमा गनिन्छन् । अर्का डीआईजी लोहनी पनि कार्य दक्षतामा अब्बल नै मान्निछन् । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा निलम्बनमा परेका लोहनीले जिल्ला अदालत मोरङबाट सफाइ पाएका थिए, एसएसपी हुँदा । निवर्तमान आईजीपी शैलेश थापाक्षेत्रीले लोहनीलाई डीआईजीमा बढुवा गरेका थिए । बढुवा सिफारिसमा परेका डीआईजी आचार्यलाई भने यसअघिका प्रहरी प्रमुख क्षेत्रीले प्रहरी मुख्यालय तानेका थिए ।

प्रतिक्रिया