बुहारीदेखि चिकित्सकसम्म सम्मानित

भक्तपुर । भक्तपुरस्थित बालकुमारी रिसाल स्मृति प्रतिष्ठानले सासुससुराको हेरचाह गर्ने बुहारी, चिकित्सक, विद्यार्थी र सामाजिक अभियान्तासहित १ सय जनाभन्दा बढीलाई एकै पटक सम्मानित गरेको छ । आफ्नी आमाका नाममा स्थापन गरिएको संस्थाका प्रमुख संरक्षक बरिष्ठपत्रकार भैरव रिसालको गृहनगर भक्तपुरमा शनिबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा दुई जना बुहारी विमला घिमिरे र अनिता भट्टराई न्यौपानेलाई सम्मानित गरियो ।

कार्यक्रममा बरिष्ठ चिकित्सक डा. सरोज धिताल, डा. सुमित्रा गौतम, डा. सुनिल ढुंगेल, डा. निर्मल श्रेष्ठ, नर्स अस्मिता पौडेल, प्रियन्का कुमारी भगतलगायत २२ जना स्वास्थ्याकर्मीलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा कुलबहादुर श्रेष्ठ, तेजेश्वर बाबु ग्वँग, पुरुषोत्तम श्रेष्ठ, पुरुषोत्तमलोचन श्रेष्ठ, श्यामकाजी डोटेललगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ११ जनालाई पनि सम्मानित गरिएको थियो । सो अवसारमा स्थानीय अरनिको उच्चमावि र कुलमाया भगवती माविका उत्कृष्ट नतिजा ल्याउने ४२ जना विद्यार्थीलाई नगद तथा प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत हुनेलाई पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठ, शुशिला कार्की, डा. द्धारिका ढुंगेल, कनकमणि दिक्षित, शान्ता दीक्षित, सुलोचना मानन्धर, डा. पुकारचन्द्र श्रेष्ठ, वाचस्पती देवकोटा, जीवेन्द्रदेव गिरी, जगत उपाध्यायलगायतले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए ।
सो अवसरमा ६० जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला तथा नगदबाट सम्मानित गरिएको थियो । रिसाल परिवारबाट २० लाख रुपैयाँको अक्षयकोष खडागरी २०७२ सालमा विधिवत स्थापना भएको उक्त प्रतिष्ठानमा हाल कोषको रकम ३० लाख ६१ हजार १ सय ११ रुपैयाँ पुगेको जानकारी संस्थाका अध्यक्ष पुरु रिसालले दिए ।

प्रतिक्रिया