काठमाडौं । देश यतिबेला स्थानीय तह निर्वाचनको महाअभियानमा छ । पाँच वर्ष लामो प्रतिक्षापछि आममतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरिसकेका छन् । यतिबेला उनीहरू आफूले प्रयोग गरेको मताधिकारको परिणामको प्रतिक्षामा छन् । हरेक सकारात्मक घटनासँग नकारात्मक घटना पनि जोडिएर आएका हुन्छन् । आममतदाता चुनावी नतिजाको प्रतिक्षामा रहँदा देशका केही स्थानबाट अप्रिय समाचार पनि आएका छन् । हामीले भन्नैपर्छ यस्ता, दुःखद् घटना फेरि सुन्नु नपरोस् ।
सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा १३ जना घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसमा जान लाग्दा बसमा करेन्ट लागेर यस्तो दुःखद् घटना भएको हो ।
विजय जुलुसका लागि ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेर जाँदै गर्दा करेन्ट लागेर कुमाख गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकीको मृत्यु भएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उक्त घटनामा थप १३ जना घाइते भएको पनि स्थानीय प्रहरीले जनाएको छ । घाइते भएका सबैलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएको जानकारी जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दिएका छन् ।
यसैगरी, दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा सोमबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाशसिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन् ।
गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप बिहान साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । जिपमा चालकसहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी, धनुषा धनौजी गाउँपालिकाको मतगणनास्थलमा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । वडा–१ स्थित लखौरी गाउँको मतगणनाको क्रममा मतपेटिकामा खसेकोभन्दा बढी मतपत्र भेटिएको भन्दै विवाद भएको थियो ।
निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताले गणनास्थलमै विरोध प्रदर्शन गरेपछि विवाद सुरु भएको थियो । पुनः मतदान गर्नुपर्ने माग गर्दै मतगणना स्थलमा धर्ना दिएपछि आन्दोलनमा उत्रिएका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
प्रहरीका अनुसार गणनामा १०÷१५ वटा बढी मतपत्र भेटिएको आरोप सम्बध पक्षले लगाएको थियो । विवाद उग्र बन्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले २५ राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
उनका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट पाँच प्रहरी र दुई जना म्यादी प्रहरी सामान्य घाइते भएका छन् । गणनास्थलमा बिहानैदेखि विवाद र तनावका कारण मतगणना पनि स्थागित भएको थियो । धनौजी गाउँपालिकामा वडा–३, ४ र ५ को मतगणना सम्पन्न भइसकेको छ ।
निर्वाचन अधिकृत पोषराज खनालले पनि १५ वटा मतपत्र बढी भेटिएको जानकारी दिए । निर्वाचनसम्बन्धी ऐनले मतदान अधिकृतले बुझबुझारथ गरेको मतपेटिकामा रहेको मतलाई नै अन्तिम मान्नुपर्ने प्रावधान रहेको जानकारी पनि उनले दिए ।
प्रतिक्रिया