काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको सोमबार १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता बनाएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले बताइन् ।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेकी छन् ।
टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन् । अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताइन् । रासस
प्रतिक्रिया