काठमाडौं । केही अपवाद बाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। देशभरका मतदान केन्द्रमा करिब ६४ प्रतिशत मतदान खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १७ स्थानीय तहका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दल र उम्मेदवारबीचमा भएको विवादलाई लिएर ठाउँठाउँमा झडपले उग्ररुप लिएपछि यी स्थानमा मतदान स्थगित गर्नुपरेको जानकारी आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दिए । स्थगित भएका मतदान केन्द्रमा निर्वाचन अधिकृतसँग समन्वय गरेर छिट्टै निर्वाचनको मिति तोकिने जानकारी थपलियाले दिए । उनले भने,‘ देशभरका सात सय ५३ स्थानीय तहका १० हजार सात सय ५६ वटा मतदान स्थल र २१ हजार नौ सय ५५ वटा मतदान केन्द्रमा भएको निर्वाचनमा केही स्थानमा भएको घटनालाई लिएर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएन भन्न मिल्दैन । छिटपुट घटनाबाहेक अन्यमा शान्तिपूर्ण भयो । ’ उनले एकै पटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या आएको बताए । शान्तिपूर्ण चुनावमा राजनीतिक दल र उम्मेदवारहरुबाटै असहयोग भएको आरोप थपलियाको छ । सप्तरी, काभ्रे, अछाम, कपिलवस्तु, दाङ जिल्ला लगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित गरिएको आयोगले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ४७ स्थानमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो। त्यसैगरी विभिन्न स्थानमा राखिएका चार वटा बम प्रहरीले निस्क्रिय पारेको प्रहरी प्रवक्ता एसएसपी विष्णु कुमार केसीले बताए । उनका अनुसार प्रहरी र सर्वसाधरणबीच झडप हुँदा २४ सर्वाधारण र ६ जना प्रहरी घाईते भएका छन् । प्रहरीले निर्वाचन विथोल्न खोज्ने, बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुटेर लैजाने लगायतका अभियोगमा विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । केसीले भने,‘ अपवाद बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको ठम्याई हाम्रो छ । केही मतदान केन्द्रमा सुरक्षा लापरबाही देखिएको पक्कै हो, सम्बन्धित जिल्लाका प्रहरी प्रमुखसँग स्पष्टिकरण लिनेकाम भईरहेको छ । समग्रमा प्रहरीले धेरै संयमता अपनाएकै हो ।’
– ४७ स्थानमा हवाई फायर, चार बम फेला, ६ प्रहरी र २४ सर्वसाधरण घाईते, १६ पक्राउ
– १७ स्थानीय तहका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित
………
निर्वाचन शान्तिपूर्ण हुन सकेन : आयोग
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनबाट आएको रिर्पोट अनुसार अपेक्षाकृत रुपमा निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताए ।
उनले भने,‘ आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षा गरे अनुसार शान्तिपूर्ण हुन सकेन ।’
आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको थियो। बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रे, सप्तरी, सर्लाही, रौतहट, धनुषा,महोत्तरीसहितका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।
………
कहाँ के भयो ?
रौटहटमा मतपेटिका लुटपाट र आगजनी
रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी गर्ने काम भयो। मतदानको समय सकिए अकस्मात मतदान केन्द्रमा एक हुल मानिस प्रवेश गरेर मतपेटिका लुटेर लगेका थिए । उनीहरुले केही मतपेटिकामा आगजनी समेत गरेका थिए। रौटहटको बोधीमाई नगरपालिका वडा नं. २ मा तीन वटा, यमुनामाई गाउँपालिकाको वडा नं. १ बाट समेत मतपेटिका लुटी बाहिर निकाली तोडफोड गरिएको थियो। मतपेटिका लुटपाट र आगजनीपछि सोही वडाको केसरिया मतदान केन्द्रका तीन वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।
……
गोरखामा गोली चल्यो
गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेवक मनिषा थापा घाइते भएकी छिन् । मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
…….
उम्मेदवारको घरमा विस्फोट
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेयको घरमा बम विस्फोट भयो। विस्फोटपछि पाण्डेको घरमा क्षति पुगेको थियो । विस्फोटमा परि पाण्डेकी बुहारी जयमाला गम्भीर घाइते हुन पुगेकी छिन् । कस्ले बम विस्फोट गराएको भन्नेबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
……
कटारीमा गोली चल्यो
उदयपुरको कटारी नगरपालिका–१० स्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय प्रबिन कटुवाल गम्भीर घाईते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको प्रहरीले जनाएको छ ।
मतपेटिका सुरक्षित राख्ने बेलामा स्थानीयले ढुंगा हानेपछि प्रहरीले गोली चलाएको जनाईएको छ। घाइते कटुवाल वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गौरव कटुवालका भतिज हुन् ।
………
दोलखाका ठाउँ ठाउँमा बुथ कब्जा
दोलखाको चरिकोटमा चार स्थानमा बुथ कब्जा भएको छ । बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ गैरीमुदीमा झडपपछि नेपाली कांग्रेसले एकलौटी मतदान गरेको आरोप एमाले र माओवादीले लगाएका छन् । त्यस्तै वडा नम्बर २ र ३ मा पनि बुथ कब्जा भएको छ ।
तामाकोसी वडा नम्बर ३ कालापानी र वडा नम्बर ४ मालुमा गठबन्धनले एमालेलाई लखेटेर एकलौटी मतदान गरेको आरोप एमालेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले एमालेका उम्मेदवारको घरमा पसेर लुटपाट र कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी समेत दिएका छन् ।
……………
काठमाडौंमै मतपत्र च्यातियो
काठमाडौंमै मतपत्र च्यातिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित भुईखेल चौर मतदान केन्द्रमा योगेश मोक्तान लामा नाममा मतदाताले मतदान गर्ने क्रममा मतपत्र च्यातेका हुन् । उनलाई लगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी काठमाडौंपछि झापास्थित गौरादह नगरपालिकामा रहेको भारती आवसिय विद्यालय मतदान केन्द्रमा पनि मतपत्र च्यातिएको थियो । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ९ थुमनीमा रहेको लालिगुरास मावि माछागढ मतदान केन्द्रमा बिक्रम भण्डारीले मतपत्र च्यातेर निर्वाचन बहिस्कारको नारा लगाएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
……..
बाबुरामलाई स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन अयोगले जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईलाई स्पष्टिकरण सोधेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले मतदान केन्द्रमा मत खसालेपछि संकेत खुल्ने गरेर मतपत्र सार्वजनिक गरेका थिए । आयोगले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै २४ घण्टाभित्र जफाव पेश गर्न भट्टराईलाई निर्देशन दिएको छ । निर्वाचन कसुर तथा सँजाय ऐन, ०७३ को दफा ९ को उपदफा २ बमोजिमको कसुर भट्टराईले गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया