बागमती । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता आउन थालेका हुन् ।
छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका यस क्षेत्रका बासिन्दा मतदानका लागि आउने क्रम जारी छ । जिल्लामा एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० वटा स्थानीय तह छ । नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपालगायतका राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनमा आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् ।
आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उक्त कार्यालयको सञ्चालनसँगै निर्वाचनको लागि प्रशासनिक र राजनीतिक गतिविधि बढ्दै गएको छ ।
मकवानपुरमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता छन् । जसमा १ लाख ४९ हजार ९ सय ५४ पुरुष तथा १ लाख ४४ हजार ९ सय ५९ महिला र ६ अन्य मतदाता रहेको बताइएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरभित्र रहेका छन् ।
हेटौँडामा ५० हजार ७ सय २५ पुरुष र ५३ हजार ७ सय ४५ महिला तथा तीन जना तेस्रोलिंगीसहित १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेका छन् । यसैगरी सबैभन्दा कम मतदाता इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । सो गाउँपालिकामा ६ हजार ४ सय ६५ पुरुष र ६ हजार ६ महिला गरेर कुल १२ हजार ४ सय ७१ मतदाता रहेका छन् ।
थाहा नगरपालिकामा १६ हजार ६ सय ९९ पुरुष र १५ हजार ६ सय ७ महिला र एक तेस्रोलिंगी गरी कुल ३२ हजार ३ सय ७ मतदाता छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार वकैया गाउँपालिकामा १५ हजार ५ सय ९३ पुरुष र १४ हजार ३ सय ४८ महिला र अन्य दुई गरी २९ हजार ९ सय ४३ मतदाता छन् । बागमती गाउँपालिकामा ११ हजार १ सय ९० पुरुष र १० हजार ८ सय ५० महिला गरी कुल २२ हजार ४० मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा ८ हजार ९ सय ३५ पुरुष र ८ हजार ४ सय ९३ महिला गरी १७ हजार ४ सय २८ कुल मतदाता रहेका छन् ।
मनहरि गाउँपालिकामा १३ हजार ७ सय ९ पुरुष र १३ हजार १२ महिला गरी कुल २६ हजार ७ सय २१ कुल मतदाता रहेको बुझिएको छ । त्यस्तै मकवानपरगढी गाउँपालिकामा ९ हजार ८ सय ९९ पुरुष र ९ हजार २ सय १९ महिला गरी कुल १९ हजार १ सय १८ मतदाता छन् । जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा ८ हजार ७ सय ४७ पुरुष र ७ हजार ८५ महिला गरी १५ हजार ८ सय ३२ मतदाता छन् भने कैलाश गाउँपालिकामा सात हजार ९ सय ९२ पुरुष र ६ हजार ५ सय ९४ महिला गरेर १४ हजार ५ सय ८६ कुल मतदाता रहेका छन् ।
जिल्लामा १ सय ६५ मतदानस्थल र ३ सय ५६ मतदान केन्द्र कायम भएको छ । त्यसका लागि निर्वाचनमा चार तहको सुरक्षा संयन्त्रण र १ हजार ४ सय ७१ म्यादी प्रहरीको परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा १९ मतदानस्थल अति संवेदनशील रहेकाले त्यसको सुरक्षा प्रबन्ध मिलाइने पाण्डेले बताए ।
मकवानपुरमा नगरपालिका र गाउँपालिका गरी १० स्थानीय तह रहेको त्यसका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १ सय २ वडाका लागि वडाध्यक्षसहित सदस्य गरी ५ सय १० पदको निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि १ हजार ७ सय ६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया