इलाम । झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्लाको सदरमुकाम इलाम नगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन् ।
उनको जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले ०४९ सालयता स्थानीय चुनाव जित्न सकेको छैन । ०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति हिमालय कर्मचार्यलाई १ हजार ७ सय ७९ मतान्तरले हराउँदै एमालेका महेश बस्नेत मेयर निर्वाचित भएका थिए ।
यसपालिको चुनावमा इलामको मेयरका लागि एमालेबाट धिरेन चेम्जोङ र नेपाली कांग्रेसका केदार थापा प्रतिस्पर्धामा छन् । थापालाई सत्तारूढ गठबन्धनमा रहेका अरू दलहरूले पनि साथ दिएका छन् । सत्ता गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीका गोपालबहादुर सोराली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मायादेवी भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनका बुद्धबहादुर लोक्ताम र स्वतन्त्र फणिन्द्र न्यौपाने पनि मैदानमा छन् । तर चर्चा चेम्जोङ र थापाकै बढी छ ।
यस्तै उमपेयरमा पनि एमालेकी सीतादेवी रिजाल र नेपाली कांग्रेसकै विष्णुकुमारी लिम्बु बीचकै प्रतिस्पर्धा देखिन्छ । इलाममा उपमेयरमा जनता समाजवादी पार्टीबाट भगीरथा कटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र चौहान, मंगोल नेसनल अर्जनाइजेसनका सेरगेम तामाङ र स्वतन्त्र डाकप्रसाद गौतम पनि मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट मेयर उपमेयर दुवैका नेपाली कांग्रेसका उम्मेदवार भए पनि उनीहरूलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ र समर्थन छ । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेकाले इलाममा २०७४ मा बस्नेतले पाएको मत पनि अहिले विभाजन भएको छ ।
वडा तहमा एक्लाएक्लै र फरक–फरक दलबीच तालमेल भए पनि मेयर उपमेयरमा एकीकृत समाजवादीसहितका तीन दल एकढिक्का छन् । त्यसैले एमाले विभाजनको असर मात्र होइन, कांग्रेस उम्मेदवारलाई माओवादी र एकीकृत समाजवादीको साथ रहकोले यसपालिको चुनावमा इलाममा आफ्नो विरासत जोगाउन एमालेलाई कठिन छ । नेकपा एकीकृत समाजवादीले इलाम नगरपालिकामा आफ्नो दुई हजार बराबरको मत रहेको दावी गर्छ । जिल्ला अध्यक्ष भक्त केसी वडा–७ बाहेक अन्य वडामा दुई सयभन्दा बढी मतदाता आफ्नो दलका रहेको जिकिर गर्छन् ।
माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको चुनावमा मेयरमा ९ सय ६३ र उपमेयरमा १ हजार ४८ मत पाएको थियो । यसपालि कांग्रेसलाई समर्थन गरेको माओवादीले आफ्नो मत अहिले बढेको दाबी गर्दै आएको छ । चुनावमा कडा प्रतिस्पर्धा हुने भएकाले दुवै पक्षका उम्मेदवार अहिले प्रचारप्रसार र घरदैलोमा जुटेका छन् । एमाले उम्मेदवार चेम्जोङ कृषि उत्पादन वृद्धि र ब्रान्डिङ, चिया तथा दुग्ध उद्योगीलाई विद्युत् महसुलमा सहुलियत नीति, सबै वडामा कालोपत्रे सञ्जाल विस्तार, जलविद्युत् आयोजनामा नागरिकलाई सेयर लगायतका मुद्दा बोकेर गाउँ छिरेका छन् ।
इलाम अस्पताल विकास समिति र निर्माणाधीन इलाम बजार खानेपानी आयोजनाका अध्यक्षसमेत रहिसकेका कांग्रेस महासमिति सदस्य थापाले कर घटाउने, स्वच्छ खानेपानी, महेन्द्र रत्न बहुमुखी क्याम्पको गुणस्तर सुधार, इलाम अस्पतालमा विशेषज्ञ डाक्टर व्यवस्थापन, लक्षित वर्गलाई सेवा सुविधामा सहुलियतलगायतका मुद्दा उठाएका छन् । दुवै उम्मेदवार आफ्ना एजेन्डा जनप्रिय भएकाले जित्नेमा ढुक्क छन् । चेम्जोङले जिते एमालेको विरासत कायम रहन्छ भने थापाले जिते कांग्रेसले ०४९ सालको पुरानो विरासत फर्काउने छ । ०४९ सालमा कांग्रेसका केशव थापा मेयर बनेको इलाममा त्यसअघि पञ्चायतमा हिमालय कर्मचार्यले बामपन्थी नेता नरेन्द्रनाथ भट्टराईलाई हराउँदै आएका थिए ।
प्रतिक्रिया