इस्लामावाद : पाकिस्तानको राजधानी इस्लामाबादमा हुन लागेको विकासशील राष्ट्रहरूको साझा संगठन ‘डी–८’ को सम्मेलनमा सहभागी हुन संगठनमा आबद्ध मुलुकका नेता पाकिस्तान भित्रिने क्रम सुरु भएको छ । विश्वका विभिन्न आठ विकासशील राष्ट्रको संगठनले सम्मेलनमा सदस्य राष्ट्रको आर्थिक तथा सामाजिक विकासबारे छलफल गर्ने बताइएको छ ।
बुधबार उद्घाटन हुने यो सम्मेलन बिहीबार दिनभर सञ्चालन हुनेछ । सम्मेलनको मुख्य ऐजेन्डा आर्थिक विकास तथा सदस्य–राष्ट्रबीच द्विपक्षीय व्यापारिक सम्बन्ध विकास गर्ने रहेको छ । डी– ८ सम्मेलनमा बंगलादेश, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान र टर्कीले सहभागिता जनाएका छन् । सम्मेलनका लागि इजिप्टका राष्ट्रपति मोहमद मोर्सी, इन्डोनेसियाका राष्ट्रपति सुशीलो बाम्वाङ युदोयोनो, इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजाद, नाइजेरियाका राष्ट्रपति गुडलक इबेले जोनायान तथा टर्कीका राष्ट्रपति रेसेप तायिप रहने पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्मेलनमा पाकिस्तानका तर्फबाट उपप्रधानमन्त्री मुहयिद्दिन यासिन र बंगलादेशबाट विदेशमन्त्री दियो मानीले प्रतिनिधित्व गर्ने भएका छन् । डी– ८ सम्मेलनको ऐजेन्डा बुधबार नै पारित गरिने बताइएको छ । सम्मेलनमा पाकिस्तानी विदेश मन्त्री हिना रब्बानी खारले पनि सहभागिता जनाउने समाचारमा जनाइएको छ । सम्मेलनको अध्यक्षता दुई वर्षका लागि अर्थात् सन् २०१४ को अन्त्यसम्मका लागि पाकिस्तानले नै गर्ने जनाइएको छ । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी प्रधानमन्त्री राजा परभेज असिफ पनि सो सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ । (सिन्ह्वा)
प्रतिक्रिया