बहसमा नेपालको मौलिक दर्शन

काठमाडौं । नेपालमा विकसित भएका मौलिक दर्शनका बारेमा परिचर्चा गरिएको छ । साहित्य सन्ध्याको ४२७औँ शृंखलामा प्राज्ञ विष्णु प्रभातले ‘नेपालको मौलिक दर्शन’ विषयमा बहस गरेका हुन् । उनले दर्शन भावनाको विषय नभइ तर्कसम्मत हुने बताए । उनले भने, ‘दर्शन संस्कृतबाट आएको शब्द हो । धेरै सत्यहरूका बारेमा छलफल गरेर दर्शन निष्कर्षका रूपमा आएको हुन्छ । नेपालका मौलिक दर्शनहरूमध्ये प्रकृतिपूजा पहिलो हो । यसको उत्पत्ति डोल्पा जिल्लाको छारकाबाट भएको र यो तीन हजारदेखि पैँतीस वर्ष पहिलेको दर्शन हो भन्ने मानिएको छ ।’

प्रभातले कपिलवस्तुमा कपिलमुनिका समयका सभ्यताका चिह्नहरू प्राप्त भएको सुनाउँदै मान्छे घुमन्ते अवस्थाबाट विस्तारै विस्तारै तर्क गर्ने, खोजअनुसन्धान गर्ने कार्यमा सरिक भएको विचार व्यक्त गरे । उनले भने, ‘त्यसपछि प्रकृति नै सर्वाेपरि हो भन्ने चिन्तन हुर्कियो । ठुला रुखमा पितृ बस्ने ठानेर पिपल आदिको पूजा गर्ने, ठुला ओडारको पूजा गर्ने यो प्रकृतिपूजक दर्शनलाई इशापूर्व दश हजारदेखि सात हजार वर्ष पहिलेको अर्थात् ऋग्वेदभन्दा पहिलेको दर्शन मानिन्छ ।’

उनले पोन (गैरआर्य) र मोन (आर्य) गरी दुई जातीय समाज रहेको विचार प्रस्तुत गर्दै गैरआर्य भनेका सीपमा बाँच्ने शिल्पी मानिएका प्रमाणहरू डोल्मा, हुम्ला, मनाङतिरका गुफामा पाइएका तथ्यले पुष्टि गरेको जिकिर गरे । उनले ऐतिहासिक सामग्री पाइएको पोन सभ्यतालाई अंग्रेजले ‘पी’ लाई ‘बी’ उच्चारण गरेर बोन लेख्ने गरेको जनाए । प्रभातले भने, ‘प्रारम्भदेखि अहिलेसम्मको शाश्वत सत्य भनेको पदार्थ हो, अर्थात् प्रकृति हो । धर्म, ईश्वर भन्ने अनुमान मात्र हो, यथार्थ होइन । शंकराचार्यले सरकारी शैन्यबलसमेतका आधारमा अद्वैत वेदान्तको स्थापना गरे । यज्ञवल्कले यजुर्वेद लेखे र त्यसमा उनले शरीर र आत्मावादी चिन्तन अघि सारेका छन् । ब्रह्म सर्वाेपरि छ भन्ने उनको भनाइमा गार्गीले अविश्वास गर्दा यज्ञवल्कले धम्क्याएको चर्चा पाइन्छ । सुरुमा पृथ्वी, जल, वायु र अग्नि गरी चार तत्वको चर्चा रहेको पाइन्छ । प्रकृति, जीवन, सदाचारका पक्षमा वकालत गर्ने प्रकृतिपूजक चिन्तन वा बोन दर्शन हो ।’

उनले रामायणमा चार्वाक दर्शन पक्षधर ऋषि देखिन्छन् र उनले राजा दशरथले गरेको आदेशको पालना आवश्यक छैन भन्नेविपरीत मान्यता राखेको जनाउँदै महाभारतमा युधिष्ठिरको जय होइन, यो त भाइ मारेर गरिएको पराजय हो भन्दा उनलाई कुटेर मारिएको बताए । ‘भौतिकवादी चिन्तन राख्नेलाई दबाइएको इतिहास देखिन्छ । पछि सर्वदर्शन प्रकाशित गर्दा चारवाक दर्शनलाई पनि त्यसैमा समावेश गरिएको छ,’ प्रभातले भने, ‘आठौँ शताब्दीमा रिम्पोछे पद्मसम्भवले बोनलाई (द्वैतवाद) दबाएर एकापट्टि मात्र बज्ने ढ्याङ्ग्रोको चलन चलाए, अद्वैतवाद लादे ।

तिब्बतमा पद्मसम्भवलाई नमान्नेलाई लखेटे, मुस्ताङसम्म आएर गुम्बा बनाएको, लामायन चिन्तन स्थापना गरेको इतिहास फेला परेको छ ।’ उनले बोन चिन्तन नेपालबाट रसिया हुँदै साइबेरियासम्म प्रसार भएको चर्चा मदनमणि दीक्षितले आफ्नो पुस्तकमा गरेको सुनाउँदै संस्कृतिको विकास, पशुपालनको थालनी नारीले गरेको, नारीसत्ता रहेको हुँदा गौतम बुद्धले आफ्नो शाक्य थर नलेखेर आमाको गौतम थर लेखेबाट प्ुष्टि हुने धारणा व्यक्त गरे । उनले बोन दर्शनले शुभसूचक चिह्नका रूपमा स्वस्तिक चिह्न प्रयोगमा ल्याएको बताउँदै देवीपूजनको संस्कृति विकसित भएको बताए । प्रभातले थपे, ‘मष्टोपूजक, लिङ्गोका माध्यमबाट धरती र आकाश जोडेको मान्ने, मातृदेवो भवः भनिएको पाइन्छ । शाक्त दर्शनले पनि चार तत्वमा आकाश तत्व थपेर पाँचओटा मूल तत्व मानेको छ । शाक्त दर्शन नारीहरूबाटै प्रतिपादित दर्शन हो । शैव दर्शन भनेको चाहिँ अनार्यले मान्ने, शिवलाई प्रमुख मान्ने, नर र नारी बराबरी ठान्ने, सबैको कल्याणको कामना गर्ने मानिएको र यज्ञवल्कले यजुर्वेद लेख्दा पनि शिवको महत्तागान गाएका छन् । शिवलाई रुद्र मान्ने र रुद्र पवित्रताको प्रतीक मानिने गरेको देखिन्छ । शैवपछि ब्रह्म दर्शन आयो ।’ उनले नेपाल तथा भारतबाट उत्पत्ति भएर फैलिएको द्वैतवादी चिन्तनलाई पछि शंकराचार्यले ऋग्वेदको प्राकृतिक भौतिकवाद छाडेर अद्वैतवादी वेदान्त स्थापित गराएको र वेदान्त दर्शन नै हिन्दु दर्शन भन्न थालिएको विचार व्यक्त गरे ।

यस्तै, साङ्ख्य दर्शनसम्म आइपुग्दा चौबिस तत्वको चर्चा गरिएको पाइन्छ र प्रकृतिवादी, अनात्मवादी, अनिश्वरवादी अवधारणाले गौतम बुद्धलाई प्रभावित पारेको बताउँदै प्रभातले भने, ‘बुद्ध दर्शन संसारकै पहिलो मानवतावादी दर्शन मानिन्छ । बुद्धले मनुष्यको मात्र होइन अरू जीव तथा वनस्पतिको पनि नाश गर्न पाइँदैन भनेका छन् । उनले सम्यक अष्टमार्गको चर्चा गरेका छन् ।’ उनले पूर्वीय दर्शनमा सङ्घातको सिद्धान्त रहेको बताउँदै यो पश्चिमा विद्वानले प्रयोग गरेभन्दा निकै धेरै पुरानो मानिएको जिकिर गरे । उनले म्याक्समुलरले वेदलाई अंग्रेजीमा अनुवाद गरेपछि संसारले पूर्वीय दर्शनका बारेमा गहन अध्ययन गरेको बताए ।

गोष्ठीमा ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, कात्यायन, रामकुमार पण्डित क्षेत्री, विन्दु ढकाल, कुमार नेपाल, डा.नारायण चौलागाईँ, लीलाराज दाहाल, भावना न्यौपाने, संगीता ढुंगाना दाहाल, ज्ञानु विद्रोही, रामबहादुर पहाडी, प्रशान्त खरेलले कविता, मुक्तक, गजल वाचन गरेका थिए । वाचित सिर्जनामाथि गोपालकुमार मैनालीले टिप्पणी गर्दै सबै रचनाले देशको अवस्था, नेपाली विकृत राजनीतिक अवस्थाका प्रति दर्बिलो झापड हानेका बताए । उनले स्रष्टा समुन्नत चेतनाको धनी हुने बताउँदै प्रकृति चेतना अब्बल हुन्छ र उसको सिर्जनाले सामाजिक बेथितिलाई उजागर गर्दै रूपान्तरणको सन्देश वा ध्वन्यार्थ सम्प्रेषण गर्नसक्नुपर्दछ भन्ने विचार प्रस्तुत गरे । मैनालीले भने, ‘अबका शासकीय जंगबहादुरले सामाजिक रूपान्तरणको चेतना भर्ने र सोहीअनुसारको काम गर्नसक्नुपर्दछ भन्ने आग्रहका साथ विकृत मानसिकता र व्यवहार बोकेका नेतृत्वका प्रति पनि कविताले सशक्त व्यंग्य गरेका छन् । थोरैमा धेरै भन्ने सामथ्र्य पनि आजका कविताले राखेका छन् । स्रष्टाले विपरीत धारका साहित्यको अध्ययन र त्यसबाट ग्रहण गर्नुपर्ने कुरा ग्रहण गर्दै त्यहाँ देखिने विकृत पक्षमाथि भने कटाक्ष गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।’ सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा डा.नारायण चौलागाईं, रामबहादुर पहाडी, गोपालकुमार मैनाली, प्रगतिशील लेखक संघ काठमाडौं जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, सीताराम पद्मकुमारी फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल लगायतका स्रष्टा उपस्थित थिए ।

प्रतिक्रिया