चार बर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

पर्वत । चार बर्षिया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई पक्राउ गरेको छ । म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानाकारी दिए ।

पर्वत प्रहरीका अनुसार छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको वेलामा आफन्तले फेला पारेर उपचारका लागि बेनी अस्पताल म्याग्दी लगेको आफन्तले बताएपछि प्रहरीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको थियो । छिनालले ४ बर्षिया बालिकालाई बलात्कार गरेका थिए ।

घटनाको बारेमा सूचना पाएलगत्तै प्रहरी चौकी वारी बेनीका प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका उनलाई शुक्रबार करणीसम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया