असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो : प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुल्ला र प्रतिष्पर्धात्मक निर्वाचनमा असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता भएको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘गठबन्धमा मात्रै होइन एउटै पार्टी भित्र पनि टिकट नपाँदा केही न केही असन्तुष्टि हुन्छ,त्यस माथि गठबन्धन भित्र धेरै थोरै असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ ।’

उनले भने, ‘अन्ततः ती असन्तुष्ट साथीहरु केही दिनमा शान्त भइहाल्नु हुन्छ, यसले निर्वाचनको परिणाममा केही फरक पार्दैन,गठबन्धको केन्द्रले बढो बुद्धिमतापूर्वक राष्ट्रको एकता,स्थिरता र संविधानको रक्षाका लागि नै गरेको रहेछ भन्ने सबैलाई लाग्छ, अनि साम्य हुन्छन् ।’

अध्यक्ष प्रचण्डले भने, ‘केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ, त्यसैलाई आत्मसाथ गरेर देशभरी नै तालमेल गर्छौ, गठबन्धनभित्र प्राथमिकता तालमेलको हो,समस्या परेकोे ठाउँमा मित्रता पूर्वक प्रतिस्पर्धा गर्ने हो ।’

प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनका लागि एकातिर अग्रगमनका पक्षधरहरु र अर्कोतिर प्रतिगमनका पक्षधरहरुको गरेर दुईटा गठबन्धन रहेको दाबी गरे । ‘एउटा हिजोका राजा महाराजासँग सम्बन्धित शक्ति देखि अरु कुनै दलाल शक्तिहरु कहिले आठ दल,कहिले नौ दल भनेर लागेका छन र अर्को अग्रगमन, परिवर्तन, समृद्धि,प्रगतिका पक्षधरहरु छन्’, उनले भने ।

नेपाली जनताले लामो संघर्ष र बलिदानबाट संविधान र परिवर्तन प्राप्त गरेको बताउँदै उनल भने, ‘यसको रक्षा गर्नका लागि यो निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रुपमा लिएर नेपाली जनताले गणतन्त्र, समावेशी लोकतान्त्रलाई अझ सुदृढ गर्न राम्रोसँग प्रयोग गर्ने छन भन्ने विश्वास लिएको छु ।’

एक फरक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले सुरुदेखि नै सरकार र गर्भनरबीच कहिँ न कहिँ समस्या देखिएको बताउँदै उनले भने, ‘अर्थमन्त्री र प्रधानमन्त्रीको सल्लाहमा नै गर्भनरलाई हटाउने निर्णय लिएको भन्ने कुरा प्रष्ट नै भएको छ, अब १३ गते अदालतले दुवै पक्षलाई बोलाएर फैसला गर्दैछ, त्यसपछि मात्रै वास्तविकता के हो भन्न सकिन्छ अहिले भन्न सकिने अवस्था छैन् ।’

प्रचण्ड कैलालीको मसुरियामा विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउने अभियानका क्रममा यहाँ आइपुगेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया