ललितपुर मेयरका लागि कांग्रेसमा रस्साकस्सी

ललितपुर । सत्तारूढ गठबन्धन दलमा महानगरपालिकाको भागबण्डाबारे अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाहरूमा सत्तारूढ गठबन्धन दलले आआफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र भने ललितपुर महानगरपालिकामा मेयर पदकका आकांक्षीबीचको रस्साकस्सी चल्न थालेको छ । हालसम्म ललितपुर महानगरमा कांग्रेसबाट मेयरका लागि कम्तीमा चार जना मैदानमा ओर्लिएका छन् । अवसर पाएर पनि केही गर्न नसकेको मात्रै होइन, विभिन्न अनियमितताको आरोपसमेत खेपेका मेयर चिरिबाबु महर्जनले पनि मेयरमा दोहो¥याउने आकांक्षा देखाएका छन् । पार्टीको वागमती प्रदेश सदस्यमा थन्क्याउन खोजिएका निवर्तमान नगरसभापति राजेश महर्जन पनि मेयर पदका आकांक्षी हुन् ।

यसैगरी स्थानीय विकास निर्माणमा सक्रिय महासमिति सदस्य भरतलाल न्याछ्औँले पनि मेयरमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । यसका अतिरिक्त महाधिवेशन प्रतिनिधि प्रेमकृष्ण महर्जन पनि मेयरको प्रतिस्पर्धी देखिएका छन् । संस्कृति र सम्पदाको धनी तथा नेवार समुदायको अत्यधिक बसोबास रहेको ललितपुर महानगरपालिका महत्वपूर्ण पहिचान बोकेको सहर हो । काठमाडौंपछिको महत्वपूर्ण महानगर भएकाले पनि ललितपुर कांग्रेसका लागि अहं बनेको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र भने ललितपुर महानगरपालिकामा मेयर पदकका आकांक्षीबीचको रस्साकस्सी चल्न थालेको छ । हालसम्म ललितपुर महानगरमा कांग्रेसबाट मेयरका लागि कम्तीमा चार जना मैदानमा ओर्लिएका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनले जित हात पारेको ललितपुर महानगर अबको निर्वाचनमा पनि कांग्रेसले गुमाउन चाहँदैन । चिरीबाबुका काम कारवाहीका कारण महानगरमा अलोकप्रिय हुँदै गएको कांग्रेस यसपटकको चुनावमा लोकप्रिय उम्मेदवार छानेर टिकट दिनुपर्ने दबाबमा छ । गुटग्रस्त ललितपुर कांग्रेसमा नेताका आसेपासेले मात्रै टिकट पाउने गरेको आरोप लाग्ने गरेको छ । त्यसमा पनि पार्टीभित्र हुने अन्तर्घातले पनि कांग्रेसका धेरै उम्मेदवार पराजित हुँदै आएका छन् । प्रेमकृष्ण महर्जन ०७४ सालमा प्रतिनिधिसभा–२ को प्रदेश सभामा २६ सय मतले पराजित भएका थिए ।

यसैगरी उनी ०५४ सालमा पनि ललितपुर उपमहानगरको उपमेयरमा सात हजार मतले पराजित भएका थिए । अहिले पनि उनी आपूmबाहेक अरू कसैलाई पार्टीले उम्मेदवार नबनाउने दाबी गर्छन् । चार दशकदेखि कांग्रेसको राजनितिमा सक्रिय भरतलाल न्याछ्औँ ललितपुर महानगरको मेयरका अर्का प्रवल दावेदार हुन् । दुईपटक नगरको सभापति भइसकेका र एकपटक पार्टीको जिल्ला पदाधिकारी रहेका न्याछ्औँ पार्टीलाई एकढिक्का राख्न पनि आफ्नो उम्मेदवारी जरुरी भएको दावी गर्छन् । ‘पार्टी विभाजनको अवस्थामा पनि म पार्टी एकता हुनुपर्छ भनेर कुनै गुटमा नलागी हिडेँ’, उनले भने ।

पार्टीले अन्यत्र जिम्मेवारी दिन खोज्दा पनि महानगरमै केही गर्न सक्ने भन्दै स्थानीय चुनाव कुरेर बसेको उनले बताए । व्यवस्थापनमा स्नातकोतर गरेका उनको नारा छ, ‘यसपटक एकैपटक’ । उनले भने, ‘अवसर आएपछि एकपटक काम गर्ने हो । यसपटक काम गर्न सकिएन भने अर्को पटक पनि अवसर दिनुस् भन्न म जान्न ।’ उनले ०५४ सालमै मेयरमा दाबी गरेका थिए । यसपटक भने उमेरका कारण पनि आफ्नो राजनीतिक यात्राको अन्तिम मौका भएको उनको भनाइ छ । झण्डै तीन हजार वर्ष पुरानो ललितपुर छुट्टै संस्कृति र सम्पदाको धनी छ ।

लिच्छविकालीन र किरातकालीन संस्कृति तथा सभ्यतासहितको नगर भएकाले पनि सबैलाई संरक्षण र सम्बर्धन गरेर विश्वव्यापी पहिचान बनाउने भरतको योजना छ । उनी वर्तमान मेयर चिरीबाबुप्रति लक्षित गर्दै भन्छन्, ‘बत्ती बालेर स्मार्ट सिटी हुँदैन । बत्ती त अत्यावश्यक कुरा हो । त्यसलाई चुनावी नारा कसरी बनाउन सकिन्छ ?’

अवसर पाएर पनि काम गर्न नसकेको आरोप खेपेका हालका मेयर चिरिबाबु महर्जन मेयरका अर्का दाबेदार हुन् । उनी आफ्नो कार्यकालमा ९० प्रतिशत काम पूरा गरेको दावी गर्छन् । ललितपुरका निवर्तमान सभापति तथा केन्दीय सदस्य मदन अमात्यको भरथेगमा चिरिबाबुले मेयरमा पुनः दोहो¥याउन चाहेको पार्टीभित्रैका विपक्षीहरूको आरोप छ । यसैगरी पाँच वर्षमा चिरिबाबुलाई आपैmँले बोलेको बोलीमा अडिग नरहेको आरोप पनि लाग्नेगरेको छ । दुई वर्षसम्म सरकारी गाडी नचढ्ने र नकिन्ने भनेर सर्वसाधारणको मन जितेका उनले दुई वर्षपछि सरकारी बजेटमै महँगै गाडी प्रयोग गरे ।

फ्लाइ ओभरको महत्वाकांक्षी योजना लिएर ०७४ सालको चुनाव जितेका उनले त्यो प्रतिबद्घता पनि पूरा गर्न सकेनन । साइकल लेन पनि उनको असफल योजनामा पर्दछ । करोडौँ रुपैयाँ खर्चेर साइकल लेनको रंग त पोते तर, उनले साइकलमैत्री वातावरण निर्माण गर्ने कुनै योजना ल्याउन सकेनन् । यसैगरी विपक्षीसँग समन्वयात्मक भूमिका खेल्न नसकेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

उनको कार्यकालभरी विपक्षीले हरेक नगर परिषद्को बैठक अवरुद्ध गर्दै आएका थिए । कांग्रेसका कमजोर उम्मेदवार मानिने चिरीबाबु गत निर्वाचनमा ३ सय २६ मतान्तरले मात्र विजयी भएकाका हुन् । अघिल्लो चुनावमा उनले २४ हजार ६ सय ४२ मत ल्याएका थिए । उनका निकट्तम प्रतिद्घन्द्घी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरेका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए ।

प्रतिक्रिया