बारको चुनावमा एमालेलाई झड्का, गठबन्धन जितको नजिक

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएनको नेतृत्वमा एमाले बाहेको गठबन्धनले जितेका छन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम भने आउन बाँकी छ ।

अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमाले निकट कानून व्यवसायी विष्णुमणि अधिकारीलाई झण्डै दुई हजार मतले पछाडि पारेका छन् । बारको निर्वाचनमा एमाले बाहेका गठबन्धन एकातिर भएका थिए। यस अघि भएका यस्ता संगठनका चुनावमा अधिकांशमा एमाले पराजय भोग्दै आएको छ ।

गठबन्धन निकट घिमिरेले ३ हजार ७२८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । गणना हुन करिब १५ सय मत मात्र बाँकी रहेको एक कानून ब्यबसायीले बताए। यसकारण पनि घिमिरेको जित निश्चित भएको हो ।

महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।

गणनामा सहभागी एक कानून व्यवसायीका अनुसार अन्य पदहरुमा पनि घिमिरे प्यानल नै अगाडि छ । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया