मालढुां–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुँदै

पर्वत । मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । यो सडक निर्माण गर्न लागिएको हुँदा सवारी साधन नै पाँच घण्टा बन्द गरेर निर्माण कार्य अगाडि बढाउन लागिएको हो । हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने काम यो सडकले गर्छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा मंगलबार बसेको सरोकारवालाहरूको बैठकले मालढुंगा–बेनी सडक निर्माणको कामलाई सहज बनाउन सवारी आवतजावत नै बन्द गर्न लागेको हो । ३ देखि २५ वैशाखसम्म दैनिक पाँच घण्टा सवारी बन्द गर्ने निर्णय गरेको हो । भर्खरै मात्र जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले ०७९ वैशाख ३ देखि २५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मालढुंगा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो सडकमा सवारी साधनको चाप निकै हुने गर्दछ । बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको माग गरेको थियो । सवारी आवतजावत गरे पछि सडक निर्माणको कार्यलाई सहज रुपमा अगाडी बढाउन नसकीएको बताउदै समय ब्यवस्थापनको माग निर्माण कम्पनीले गरेको हो । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

बैठकले सवारी आवतजावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । १३ किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । यो सडकमा निर्माण कार्य चलिरहेको समयमा पनि बेनीदेखि भाइरल तोरीबारी रत्नेचौर हुँदै बागलुङ देखि मालढुंगाको रुट वैकल्पिक बाटोको रूपमा प्रयोग गरेर आवतजावत गर्न सकिन्छ ।

प्रतिक्रिया