उदयपुर । घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदा खोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ ।
साथीको हत्यापछि कोशी जनता माद्यामिक विद्यालय रामपुरका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले रामपुर बजारमा प्रदर्शन गरेका छन् ।
उदयपुरको बेलका नगरपालिका–६ बुद्धचोक घर भएकी किशोरीको मंगललबार बिहान विद्यालयमा अतिरिक्त कक्षा पढ्न जाने क्रममा हत्या भएको थियो । बेलका नगरपालिका–३ यसोदाखोलामा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएकी एक किशोरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले घटनास्थल सुरक्षित राखी कानूनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले अनुसन्धानका क्रममा करणी गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भई सकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।
कक्षा १० मा अध्ययनरत बालिका एसईईको तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताए ।
मृतक बालिकाको टाउकोमा चोट लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की १७ वर्षीया विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए ।
प्रतिक्रिया