तनहुँ । लोकगायिका हरिदेवी कोइरालालाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको छ । उनलाई गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको २५ हजार राशिको उक्त पुरस्कार व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली कला तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
यस्तै, गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलीया र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि सात हजार रहेको छ । यसैगरी, पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शंकर परियार र २०७८ लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ । पुरस्कृत स्रष्टालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले पुरस्कार प्रदान गरे । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमद्वारा लिखित महाकाव्य ‘सुनकेशरी’ विमोचन गरिएको थियो । समालोचक महाप्रसाद हडखले (महेश) ले महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । नाटक मञ्चले कला, साहित्य, भाषा तथा संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले बताए ।
प्रतिक्रिया