लिंकन युनिभर्सिटीका २५ सयभन्दा बढी विद्यार्थी दीक्षित

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज मलेसियाअन्तर्गतका ११ वटा कलेजहरूको दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा १९ चैत शनिबार सम्पन्न समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरू दीक्षित भएका थिए । समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वदेशका कलेजहरूले नै नयाँ विषयहरूको पठनपाठन सुरूआत गरेमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरू विदेश धाउन नपर्ने बताए । स्वदेशी विद्यार्थीहरूले नेपालका कलेजहरूमा उच्च शिक्षा लिन सक्ने गरी आवश्यक वातावरण मिलाउन उनले कलेज सञ्चालकहरूलाई आग्रह गरे ।

स्वागत मन्तव्य व्यक्त गर्दै लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) का अध्यक्ष रेश्ता झाले लिंकन युनिभर्सिटीमा आबद्ध कलेजहरूले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रियस्तरको शिक्षाका विशेषता बारे प्रकाश पारे । लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्राध्यापक डाक्टर अमिया भौमिकको सभापतित्वमा भएको समारोहमा कलेजका प्रो.चान्सलर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए ।

धन्यवाद ज्ञापन गर्दै लुकानका महासचिव लक्ष्मण पोखेरेलले लिंकन युनिभर्सिटी मातहतका कलेजहरूले समय सापेक्ष गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता दिने बताए । समारोहमा दीक्षित विद्यार्थीहरूले आ—आफ्नो अनुभव सुनाउँदै स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा पाएर गौरवान्वित भएको बताए ।

लिंकन युनिभर्सिटी कलेजअन्तर्गत एकेडेमी अफ कलिनरी आर्ट हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, टेक्सस् कलेज अफ म्यानेजमेन्ट एन्ड आइटी, आइआइएमएस लिंकन इन्टरनेसनल कलेज, केएफए बिजनेस स्कुल एन्ड आइटी, वेस्टन मेगा कलेज, नेपाल बिजनेस कलेज, एनसिएमटी कलेज, पोखरा लिंकन इन्टरनेसनल कलेज, ग्रिन पिस लिंकन कलेज, बाल्मीकि लिंकन कलेज सञ्चालित छन् । समारोहमा ब्याचलर तथा माटर्स दुवै सेमेस्टरका विद्यार्थीहरू दीक्षित भएका हुन् । कार्यक्रममा दीपक बज्राचार्यको व्यान्ड ‘रिदम’ ले सांगीतिक प्रस्तुति दिएको थियो । लिंकन युनिभर्सिटी कलेज हाल गुणस्तरीय शिक्षाका लागि विश्वमै ३५औँ स्थानमा रहेको छ । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका शैक्षिक पाठ्क्रमहरू सञ्चालन गरिरहेको लुक्यानका कोषाध्यक्ष सविन्द्र महर्जनले जानकारी दिए ।

प्रतिक्रिया