देउवाले सीमा विवाद उठाउँदा मोदी मौन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सीमाको विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आपूmले समकक्षी मोदीलाई आग्रह गरेको बताए । आफूले यस्तो आग्रह गरे पनि भारतीय प्रधानमन्त्री मोदीले सीमा विवादको विषयमा कस्तो प्रतिक्रिया दिए भन्नेबारेमा भने प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनमा केही बताएनन् । यसअघिका सरकारहरूले पनि पटकपटक भारतसँग सीमा विवादका कुरा उठाउँदै आएका थिए ।

भारतीय उच्च अधिकारीहरू यस विषयमा मौन रहँदै आएका छन् । यसपटक पनि भारतीय प्रधानमन्त्री मोदी यस विषयमा मौन रहेको देउवाले आयोजना गरेको पत्रकार सम्मेलनबाट पुष्टि भएको छ । शनिबारको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘हामी (देउवा र मोदी) ले सीमा विवादको विषयमा छलफल ग¥यौँ । मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छु ।’ नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ । दुई मुलुकबीच सीमा समस्या समाधानका लागि पटकपटक पहल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका क्रममा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रको विषयमा वार्ता गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । त्यसको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

आफूले यस्तो आग्रह गरे पनि भारतीय प्रधानमन्त्री मोदीले सीमा विवादको विषयमा कस्तो प्रतिक्रिया दिए भन्नेबारेमा भने प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनमा केही बताएनन् । यसअघिका सरकारहरूले पनि पटकपटक भारतसँग सीमा विवादका कुरा उठाउँदै आएका थिए ।

 

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणलाई तीव्रता दिएको बताएका थिए । सीमा विवाद समाधानको कुरा दुई देशका नेताहरूको एकअर्काको देशमा हुने भ्रमणका बेला मात्रै उठ्ने गरेको देखिन्छ । यसअघि भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

शनिबार बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्ता लगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक भएको थियो । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए् । यसअघि भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार बिहान नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका थिए । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उनी शुक्रबार नयाँ दिल्ली पुगेका हुन् ।

चार समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच शनिबार चार वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी तथा सम्झौतापत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अध्ययन गरेका थिए । शनिबार नेपाल र भारतबीच भएका चार वटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनका लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारीपत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन् ।

रेल सेवाको शुभारम्भ

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवाको शुभारम्भ गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले शुभारम्भ गरेको रेल जनकपुर आइपुगेको छ । दिउँसो तीन बजेतिर रेल जनकपुर आइपुगेको हो । प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि रेल जयनगरबाट छुटेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेसनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए ।

रेल जनकपुरधामस्थित रेल्वे स्टेसन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेसनमा उद्घाटन समारोह आयोजना गरिएको थियो । रेल सेवा आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ । दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए ।

यसैगरी दुवै देशका प्रधानमन्त्रीले शनिबार नै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण गरिएका १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको पनि संयुक्त रूपमा उद्घाटन गरे । दुवै देशका प्रधानमन्त्रीले नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले सोलु करिडोर १ सय ३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रूपमा उद्घाटन गरे । उक्त प्रसारण लाइन भारत सरकारको ३ अर्ब २० करोड रुपैयाँ ऋण सहयोगमा र भारत सरकारको सहयोगमा निर्माण भएको हो । समझदारीपत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताए । उनले भारतसँग नेपालको सम्बन्ध अति महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको प्रशंसा पनि गरे ।

पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक भारतको भ्रमण गरेका हुन् । यसअघि उनी भारतका प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन जाने तयारी भएको थियो । तर, कोभिड–१९ का कारण उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । देउवा भारतको भ्रमण सकेर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पञ्चेश्वर अगाडि बढाउने सहमति

लामो समयदेखि अन्यौलमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन पनि नेपाल र भारत सहमत भएका छन् । लामो समयदेखि पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्म तयार हुन सकेको छैन । प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो । सो अवसरमा बताइए अनुसार, पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अगाडि बढाउन दुवै देश सहमत भएका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन । भारतीय प्रधानमन्त्री मोदीले सो आयोजनालाई ‘गेम चेञ्जर’ परियोजनाको संज्ञा दिएका छन् । उनले पनि परियोजनाको काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उक्त परियोजना दुई दशकभन्दा लामो समयदेखि अन्योलमा रहेको छ । नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवद्र्धनमा भारतले सघाउनेजस्ता ऊर्जा र जलविद्युत् क्षेत्रसँग सम्बन्धित विषयले भ्रमणमा प्राथमिकता पाएको छ ।

महाकाली सन्धिअन्तर्गत नै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गरी दुवै देशले लाभ लिने लक्ष्य राखिएको थियो । सो आयोजनाबाट कुल ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । रुपाली गाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट थप २ सय ४० मेगावाट विद्युत् उत्पादन गर्ने योजना पनि छ । २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया