मालभोग केरामा ‘पानामा’ रोग

चितवन । जिल्लामा रैथाने जातको रुपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न सुरु गरेका छन् । रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले २५ बिघा जमिनमा केराखेती गर्दै आएका छन् । दश वर्षदेखि केराखेती गर्दै आएका उनालाई पछिल्लो समय मालभोग केरामा लागेको पानामा रोगले सताउन थालेको हो । ‘हरियो जातको केरा १५ र मालभोग जातको केरा १० बिघामा छ । मालभोगका लागि शत्रु बनेर पानामा रोग आएको छ’, सापकोटा भने, ‘विगत छ वर्षदेखि यसको उपचार गर्न नै सकिएको छैन ।’ चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित छन् । उक्त जातको केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । पछिल्लो छ वर्षयता यो समस्याले केराखेती गर्ने अन्य किसानलाई समस्या पार्दै आएको छ ।

केरा लगाएको पहिलो वर्ष रोग नदेखिए पनि दोस्रो वर्षबाट देखिने गरेको रत्ननगर–१२ का किसान नारायणदत्त पन्तले बताए । ‘करिव पाँच बिघा जमिनमा केराखेती छ । मालभोग जातको केरा जहाँ लगाए पनि एक वर्षबाट नै समस्या देखिन्छ,’ आठ वर्षदेखि केराखेती गर्दै आएका छु,’ उनले भने, ‘पहिलो वर्ष सामान्य असर देखिए पनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशतसम्म रोग फैलिने गरेको छ । चौँथो वर्षदेखि केरा नै नाश गर्नुपर्ने अवस्था आएको छ ।’ चितवनमा दुई हजार १०० हेक्टर जमिनमा केराखेती रहेको अनुमान छ । त्यसमध्ये ३० प्रतिशतको हाराहारीमा पानामा रोग देखिएको केरा उत्पादक संघ जिल्ला शाखाका महासचिव जनक पन्तले बताए । ‘हामी केरामा आत्मनिर्भर हुन खोजेका छौँ तर मालभोग जातको केरामा रोग देखिएपछि उद्देश्य पूरा हुनसकेको छैन,’ उनले भने, ‘रोग बढ्ने क्रम जारी रहेकाले किसान अहिले आत्तिएका छन् ।’ अहिले केराको जोन क्षेत्र रहेका कालिका, खैरहनी, रत्ननगरमा पानामा रोग देखिएको छ ।

यसबारे किसानले सरकारी निकायसँग पहल गरिदिन आग्रह गरे पनि सार्थक हुन सकेको छैन । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारसँग रोग निदान गरिदिन अनुरोध गरेका थियौँ तर हालसम्म कुनै पहल भएको छैन्,’ महासचिव पन्तले भने ।
नेपालमा पानामा रोग १३ वर्षअघि भारतबाट भित्रिएको अनुमान गरिएको छ । चितवनमा भने छ वर्षदेखि व्यापक रुपमा फैलिँदै गएको हो । मालभोग जातमा देखिएको रोगलाई निराकरण गर्न समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढंगनाले बताए । ‘केरामा छ वर्षदेखि ढुसीजन्य रोग देखिएको थियो । यसलाई निराकरण गर्न सकिँदैन भन्ने विश्वको अभ्यासबाट देखिएको छ,’ उनले भने, ‘हाम्रो प्रयासले नसकेपछि नार्कको टोलीलाई बोलाएर अनुसन्धान गर्न लगायौँ तर सकिएन । त्यसपछि चीनबाट वैज्ञानिक बोलाएर निरुपण गर्ने प्रयास गर्दा पनि भएन ।’

निर्मुल गर्न नसकिए पनि पानामा रोगलाई कम गर्न सकिने महासचिव पन्तले भने । ‘मालभोग जातको केरा लगाउदा प्रशस्त गोबर मल प्रयोग गर्न र एक पटक पनि केराखेती नभएको माटो भयो भने रोग कम गर्न सकिन्छ,’ उनले भने । जिल्लामा ७५० कृषकले व्यवसायिक रुपमा केरा खेती गरेको अनुमान छ । मालभोग केराको स्वाद मिठो र उत्पादन बढी हुने भएकाले अधिकांश कृषकको रोजाइमा मालभोग जात नै पर्ने गरेको कृषि अधिकृत ढुंगनाले बताए । पानामा रोगबाट बच्न पानामा रोग नलाग्ने जातका केरा छनोट गर्न उनकोे सुझाव छ । मालभोग केराको विकल्पमा यहाँका किसानले ‘जिनाइन’ प्रजातिको केरा लगाउन थालेका छन् । चितवन केरा उत्पादन बढी हुने जिल्ला मानिन्छ । यहाँ वार्षिक ८० हजार मेक्ट्रिकटन केरा उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । देशभरको उत्पादनको करिब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ तर नेपालमा अझै पनि कूल मागको ६० प्रतिशत केरा भारतबाट आउने व्यवसायी बताउछन् ।

प्रतिक्रिया