काभ्रे । पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ हुने र त्यसमा जनादेशको जीत हुने बताएका छन् । काभ्रेको बनेपामा नगरपालिकाको ४१ औँ स्थापना दिवसको उद्घाटन र बालमैत्री नगर घोषणा गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले स्मार्ट सिटीको रुपमा विकास गराउन खोजिएको र बनेपामा ७५ करोड रुपैयाँ लागतमा पुण्यमाता कोरिडोर व्यवस्थित गर्न खोजे पनि मुआब्जालगायत विषयमा रिट हालेर केही स्थानीयले विकासको बाधक बनेको आरोप लागाए ।
सो विकासको काम गर्न स्थानीयले नदिएको भन्दै बर्खामा भान्सामा बाढीको पानी पुग्दा आफ्नो अलिकति पनि मनन् गर्न नसकेको प्रति दुःख घृणा लागेको बताए । उनले एयरपोर्ट बन्ने कुरामा पनि केही पार्टीका नेताले नदिएको आरोप लगाए । उनले बाँस्कोटाले नगरपालिकाले उलेख्य काम गरेको भन्दै कला साहित्यदेखि पर्यटकीय क्षेत्रसम्म बनाउने कुरामा काम भएको दाबी गरे ।
कार्यक्रममा नगरप्रमुख लक्ष्मीनरसिंह बादेले स्थानीय सरकारले ५ वर्षको अवधिमा गरेको अधिकांश कामको जनताले मूल्यांकन गर्ने बताए ।
यसैबीच बनेपा नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारी नगरलाई बालमैत्री उन्मुख नगर घोषणा गरेको छ । बनेपा नगपालिकाको १४ वटा वडामध्ये वडा नम्बर ४, ५, १०, ११, १३ गरी ५ वडाले सबै सूचक र समग्रमा नगरले ७५ प्रतिशत सूचक पूरा गरेको भन्दै नगरपालिकाको आफ्नो स्थापना दिवसको अवसरमा सोमबार बालमैत्री उन्मुख नगर घोषणा गरिएको हो । कार्यक्रममा बनेपा तारा पदकबाट वरिष्ठ साहित्यकार मोहन दुवाल र संस्कृतविद ज्ञानकाजी मानन्धरलाई सम्मान गरिएको थियो । १५ बर्ष स्थायी सेवा अवधी पुरा गरेका शिक्षक र सेवा निवृत शिक्षकलाई सम्मान गरिएको थियो । नगरपालिकामा २५ वर्ष काम गरेका कर्मचारीलाई बनेपा दीर्घ सेवा पदक र १५ वर्ष स्थायी सेवा अवधि पुगेका कर्मचारीलाई बनेपा सेवा पदकले सम्मान गरिएको थियो ।
प्रतिक्रिया