‘चिसो मान्छे’ को टिजर सार्वजनिक

काठमाडौं । कर्णाली भेगको कथा उधिनिएको चलचित्र ‘चिसो मान्छे’ को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको प्रमुख भूमिका रहेको छ । सार्वजनिक टिजरमा स्वस्तिमालाई कर्णालीको भेषभूषामा देखाइएको छ ।

निर्देशक खनालकै लेखन तथा छायांकन रहेको चलचित्रको टिजरमा अभिनेता देशभक्त खनाललाई समेत देखाइएको छ । कर्णाली क्षेत्रको कथामा केद्रित रही निर्माण गरिएको यो चलचित्रलाई डिएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

दीर्घ गुरुङको सम्पादन रहेको यो चलचित्र आगामी असार ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा, अर्पण, देशभक्तको साथै आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारको समेत अभिनय छ ।

एक मिनेट लामो टिजरले चलचित्रको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गराउने कोशिस गरेको पाइन्छ । यौन मनोविज्ञानलाई देखाएको टिजरमा अभिनेता अर्पण दुई भिन्न फ्रेममा दाह्री काटिरहेको देखिन्छन् । उनलाई स्वस्तिमा चिया पिउँदै हेरिरहेकी छन् । उनीहरुबीचको हेराइलाई देशभक्त खनालले भंग गरिदिन्छन् ।

स्वस्तिमा पनि झन्किएर हिँडेको दृश्य टिजरमा प्रस्तुत गरिएको छ । यसपछि देखाइएको दृश्यले ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा टाढा हुँदै जान्छ । चलचित्रले स्वस्तिमाको अतृप्त यौनचाहनालाई संकेत गरेको भान दर्शकलाई पर्छ । लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथालाई प्रस्तुत गरेको पाइन्छ ।

चलचित्रमा प्रयोग गरिएको पात्रहरुको संवादले कर्णालीको कुनै भेगलाई प्रतिनिधित्व गरेको सहजै अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनका कारण यसअघि आगामी ३० वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको नयाँ मिति तोकिएको हो ।

प्रतिक्रिया